राणाकालीन समयमा काठमाडौंको न्युरोड क्षेत्रको स्वरूप बेग्लै थियो । जुद्धशमशेरको सालिकदेखि हालको न्युरोड छिर्ने प्रवेशद्वारसम्म बनेका घरहरू एकैनास देखिन्थे । सबै घरहरू तीन तलासम्मका थिए । वसन्तपुर दरबार क्षेत्र प्रवेशमार्गसमेत रहेको न्युरोड सडक क्षेत्रका घरहरू त्यसवेला हेर्दै दरबारझैँ देखिन्थे । जुद्धशमशेरले यस क्षेत्रलाई एकरूपता दिन सेतो रंग लगाउन घरधनीहरूलाई लगाएका थिए ।
तर, समयक्रमअनुसार न्युरोडको रूपरंग नै बदलियो । पछिल्लो ५०–६० वर्षको अन्तरालमा न्युरोडले पुरानो रूप गुमायो । पुराना घरहरू भत्काउँदै ९–१० तलेसम्मका अग्ला भवनहरू बन्न थाले । घरका रंगहरू पनि फेरिए । स्थानीयले आफूखुसी रंग र शैली अपनाए । समयक्रमसँगै भद्रगोल र अस्तव्यस्त देखिएको न्युरोडलाई फरक ‘लुक्स’ दिने अभियानमा जुटेको छ काठमाडौं महानगरपालिका । भवन भत्काउन सम्भव नभए पनि सबै घरमा समान रंग लगाएर एकरूपतामा सुन्दरता खोज्न महानगर लागिपरेको हो ।
वडा नं. २४ मा पर्ने ६० वटा घरमा वडा कार्यालयले घरधनीहरूसँग समन्वय गरेर उनीहरूकै खर्चमा घरहरूको रंग एउटै बनाउने अभियान थालिसकेको छ । अब न्युरोडका सबै घरका भित्ता सेतो तथा झ्याल–ढोका र सटर हरियो रंगका हुनेछन् । महानगरको अनुरोधमा एक सातादेखि घरधनीहरू आ–आफ्ना घर रंग्याउन व्यस्त छन् । अबको १० दिनभित्र सबै घर रंग्याएर सकिनेछ ।
वसन्तपुर क्षेत्रका स्थानीय गौतम शाक्य सहरीकरणसँगै न्युरोडको मौलिकता हराएको बताउँदै एउटै रंग लगाउनु सकारात्मक रहेको बताउँछन् । ‘जुद्धशमशेरको पालामा यहाँ तीन तलाका मात्रै घरहरू थिए, लस्करै घर र त्यसको एकरूपता भएकाले न्युरोडनजिकैको नाम झोछे हुन पुगेको हो, तर बिस्तारै मौलिकता बिग्रिएको थियो ।’ उनका अनुसार न्युरोडको क्षेत्रफल हाल दमकल रहेको स्थानस्थित नौतले दरबारदेखि न्युरोड गेटसम्मको हो । यहाँ करिब ६० घरहरू छन् ।
खर्च सबै घरधनीले नै व्यहोर्ने सहमति
काठमाडौं– २४ का वडाध्यक्ष विनोद राजभण्डारीले न्युरोडको स्वरूप कुनै समय एउटै भएकाले सोही अवधारणाअनुसार एकरूपता दिन खोजिएको जानकारी दिए । उनका अनुसार रंग लगाउँदा आउने खर्च सबै घरधनीले नै व्यहोर्ने सहमतिपछि काम थालिएको हो ।
यस्तै, महानगरका मेयर बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाह न्युरोड पहिलेदेखि नै व्यापारिक र सम्पदाको केन्द्रविन्दुका रूपमा रहेकाले यसको पुरानो मौलिकतालाई ध्यानमा राख्दै एकरूपता दिन लागिएको बताउँछन् । सम्पदा अभियन्ता यादवलाल कायस्थ महानगरले गर्न लागेको एकरूपताको पहलकदमी राम्रो भएको बताउँछन् ।
विनोद राजभण्डारी, वडाध्यक्ष
जुद्धशमशेरको पालामा यहाँका घर सेतो रंगका थिए, न्युरोड भनेपछि सबैले याद गर्ने किसिमको संरचना थियो, तर सहरीकरण र समयक्रमअनुसार त्यो स्वरूप मेटिँदै गयो । यसकारण हामीले पुरानै मौलिकता र एकरूपता दिन खोजेका हौँ, यसबारेमा काम थाल्नुअघि व्यवसायी र घरधनीसँग छलफल गरेर उहाँहरू सहमत भएपछि काम अघि बढाइएको हो ।