ग्यासको दोहोरो मूल्य कत्तिको प्रभावकारी हुन सक्ला ?
अहिलेको अवस्थामा घरायसीभन्दा व्यावसायिक उपभोक्तालाई ग्यास सहज र सुपथ साबित भएको छ । ग्यासमा निगम लगातार घाटामा रहेको विषय उठान भएको पनि लामो समय भयो । यसको विकल्प भनेको घरायसी र व्यावसायिक उपभोगका लागि फरक फरक मूल्य निर्धारण गर्नु नै हो । यसको व्यवस्थित र आत्मनिर्भर कारोबारका लागि हामी तयार पनि छौँ । तर, अहिलेकै अवस्थामा भने यस्तो प्रणाली सम्भव छैन ।
उसो भए दोहोरो मूल्य प्रणाली सफल हुने आधारहरू केके हुन् त ?
सबैभन्दा पहिले प्रज्वलनशील वस्तुको कारोबार व्यवस्थित हुनुपर्छ । घरायसी र व्यावसायिक प्रयोजनका ग्राहकको स्पष्ट पहिचान र परिभाषा हुनुपर्छ । विक्रेता प्रमाणीकरण हुनुपर्छ । निगम, ग्यास उद्योग, विक्रेता र उपभोक्ता सबै आआफ्नो जिम्मेवारीअनुरूप जोडिन सक्ने सफ्टवेयर बन्नुपर्छ । तब मात्र यस्तो दोहोरो मूल्य प्रणाली सम्भव हुन्छ ।
वर्षौंदेखि चर्चामा रहे पनि दोहोरो मूल्य कार्यान्वयनमा किन आउन नसकेको होला ?
यसका लागि आवश्यक आधारहरू प्रस्ट भएनन् । अहिलेकै अवस्थामा रमाउने उद्योगी, व्यवसायीको निगममा बलियो पहुँच छ । विषय उठान भयो कि विभिन्न बहानामा उनीहरूले अवरोध गरिहाल्छन् । यसमा निगमले पनि प्रभावकारी हस्तक्षेप गर्न सकेन । यस्तै अवस्था रहिरहने हो भने दोहोरो मूल्य प्रणाली प्रभावकारी हुन सक्दैन । बरु, दोहोरो मूल्यभन्दा त स्वचालित मूल्य प्रणाली नै उपयुक्त हुन्छ ।