कबड्डी खेललाई व्यावसायिक बनाउन केबी सामले गर्यो तीन वर्षको सम्झौता
एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा शुक्रबारदेखि हुने नेपाल कबड्डी लिग (एनकेएल)ले मुख्य प्रायोजक पाएको छ । केबी सामले लिगलाई वार्षिक ७५ लाख दिने सर्तमा तीन वर्षका लागि मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको म्यानेजमेन्टका अध्यक्ष अमितकुमार बेगानीले बताएका छन् । फ्रेन्चाइज टोलीको अवधारणामा आयोजना हुन लागेको लिग अब केबी साम नेपाल कबड्डी नामले हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा ६ सहरका ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरण राउन्ड रोबिन लिग पद्धतिमा हुनेछ । त्यसपछि प्लेअफ हुनेछ । १८ माघमा प्रतियोगिताको फाइनल हुनेछ । यसैबिच बुधबार मुख्य प्रायोजकको सम्झौतापत्रमा केबी सामका मार्केटिङ एन्ड सेल्स प्रमुख रूपेश थापा र एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष बेगानीले हस्ताक्षर गरेका छन् । केबी साम आल्मुनियम उत्पादक कम्पनी हो । तीनवर्षे सम्झौता गरेको हो ।
नेपाल कबड्डी लिगले पाएको मुख्य प्रायोजक रकम नेपाल खेलकै चौथो ठूलो हो । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट, सहिद स्मारक ‘ए’ डिभिजन लिग र सूर्य नेपाल गल्फ टुरपछिको नेपाल कबड्डी लिग चौथो सबभन्दा ठूलो प्रायोजन हो । वीरगन्जमा कारखाना रहेको केबी सामले २५ वर्षयता आल्मुनियमको व्यवसाय गर्दै आएको छ ।
नेपालका खेलाडी स्तरीय
एस्ट्रोनिक्सका अध्यक्ष बेगानीले नेपालमै अन्तर्राष्ट्रिय लेभलको खेलाडी भएको बताएका छन् । एक वर्षको अवधिमा गरिएको अनुसन्धानमा मुलुकभित्र कबड्डी खेल्ने कम्तीमा २५ हजार खेलाडी रहेको बेगानीले बताए । ‘हजारौँ खेलाडी यहाँ नै छन्, उनीहरू उच्चस्तरीयका छन्,’ उनले भने, ‘यसले नेपालमा कबड्डीको सम्भावना भएको प्रस्ट पार्छ ।’ नेपाल कबड्डी संघसँग सम्झौता गरेको एक वर्षपछि लिग गर्न लागेको एक्ट्रोनिक्सका अध्यक्ष बेगानीले पहिलो वर्षमा प्रतिफलको आशा नगरेको बताए । ‘यो हामीहरूका लागि पहिलो वर्ष हो, हामीले अहिले लगानी गर्ने हो, यसकारण यसबाट प्रतिफलको आशा गरेका छैनौँ,’ उनले भने ।
यसैगरी केबी सामका थापाले भने, ‘पूर्व मेचीदेखि पश्चिम महाकलीसम्म केबी साम विस्तारित छ । कबड्डीमा गरिएको लगानीले कम्पनीको प्रवद्र्धनमा पनि साथ दिनेछ । त्यसैले एनकेएलमा स्पोन्सर गर्दा केबी साम र कबड्डी दुवैलाई फाइदा हुन्छ ।’
घरेलु खेलाडीमा घनश्याम सर्वाधिक अनुभवी
नेपाली राष्ट्रिय पुरुष टोलीका कप्तान घनश्याम रोकामगर घरेलु खेलाडीमध्ये सर्वाधिक अनुभवी हुन् । उनीसँग भारतको प्रो–कबड्डी लिग खेलेको अनुभव छ । घनश्यामबाहेक अन्य नेपाली खेलाडीसँग प्रो–कबड्डी लिग खेलेको अनुभवी छ । घनश्यामले यो सिजनको प्रो–कबड्डी लिग हरियणा स्टिलर्सबाट उपाधि जितेका थिए । दुई साताअघि हरियाणाले प्रो–कबड्डी लिग जितेको थियो । नेपाल कबड्डी लिगमा स्वदेशी ६६ र विदेशी १८ खेलाडी छन् । थाइल्यान्ड र बंगलादेशका समान ६ खेलाडीले भाग लिनेछन् । श्रीलंकाका र केन्याका समान तीन खेलाडी आएका छन् । हरेक टोलीमा स्वदेशी–विदेशी गरी १४ खेलाडी हुनुपर्नेछ ।
पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागी छन् । राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन् ।