पाँच वर्ष (०७६) अघि चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा धेरै विषयले चर्चा पाएका थिए । ती धेरै विषयमध्ये काठमाडौंको तीनकुनेस्थित तीनकुने पार्क पनि एक थियो । भद्रगोल अवस्थामा रहेको यो ठाउँलाई रातरात ‘पार्क’ बनाइएको थियो । पार्कले नढाकेको ठाउँ लुकाउन सरकारले फ्लेक्स बोर्डको सहारा लिएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पार्क सजाउन मात्रै ४१ लाख खर्च गरेको थियो । चिनियाँ राष्ट्रपति फर्किएसँगै पार्क पुरानै स्वरूपमा फर्कियो ।
अर्को वर्ष (०७७)मा काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले तीनकुनेमा बुद्ध पार्क निर्माण गर्ने घोषणा गरे । डिजाइनसमेत तयार पारेर आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा बुद्ध पार्क निर्माण योजना समावेश गरे । तर, पार्क निर्माण अगाडि बढेन ।
तीनकुने पार्कको विषयलाई लिएर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३० साउन ०८० को बैठकमा सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका लागि ठोस पहल गर्न कर्मचारीलाई निर्देशन दिएका थिए । जसअन्तर्गत तीनकुनेमा पार्क निर्माण पनि समावेश थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले तीनकुने अधिग्रहित जग्गा सरकारको नाममा आइसकेको परिस्थितिमा पनि मुआब्जा र समस्या समाधान हुन बाँकी रहेकाले त्यसको दीर्घकालीन समस्या समाधानका लागि ठोस पहल गर्न निर्देशन दिएका थिए । तर, हालसम्म तीनकुने पार्क निर्माणका लागि कुनै पनि प्रक्रिया सुरु हुन सकेको छैन । जसकारण पार्क बन्ने स्थान खेल मैदानमा परिणत भएको छ । तीनकुनेको उक्त जग्गामा सात–आठवटा भलिबल कोर्ट बनेका छन् । त्यत्तिकै मात्रामा क्रिकेट खेल्ने, घाम ताप्ने, टहल्ने ठाउँको रूपमा परिणत भएको छ ।
करिब ५० रोपनीमा फैलिएको यो जग्गाको ०३१ मा सरकारले अधिग्रहण गरेपछि ०५२ मा लगतकट्टा गरी सबै जग्गा सरकार र सडक विभागका नाममा दर्ता गर्यो । सरकारी लगतकट्टा साबिकमै फिर्ता हुने भन्दै ०५७ मा सर्वोच्च अदालतको आदेश आयो । ०५९ मा प्रतिरोपनी ५१ लाख २० हजार मुआब्जा दिने निर्णय भयो । सोहीअनुसार ०६४ मा मुआब्जाका लागि महानगरलाई १५ करोड रुपैयाँ निकासा भयो । जुन रकममध्ये १० करोड ८० लाख मुआब्जा वितरण भयो । यो रकम पहिलोपटक मुआब्जास्वरूप वितरण भएको थियो । त्यसपछि कुनै पनि काम हुन सकेको छैन । मुआब्जाका विषय समाधान नहुँदा काम अगाडि बढ्न सकेको छैन ।
सरकारले जग्गा लुटेर राखेको बालेनको आरोप
महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले तीनकुनेको जग्गा सरकारले लुटेर राखेको भन्दै अहिलेको दुईतिहाइको सरकारले पनि यो समस्या समाधान गर्न नसक्ने हो भने कहिल्यै समाधान नहुने बताएका छन् । तीनकुनेको चौरमा १२ पुसदेखि सुरु भएको कोटेश्वर महोत्सवका क्रममा मेयर बालेनले यस्तो बताएका हुन् । ‘५०औँ वर्षदेखि यो जग्गाको समस्या समाधान भएको छैन । मुआब्जा पाउनुभएको छैन । सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ,’ उनले भने, ‘अहिले बहुमतको सरकार छ, त्यही पनि केही काम गरेकै छैन । कोही नेता तपाईंको घर आएर काम हुँदै छ, प्रक्रियामा छ भनेर आश्वासन दिए नपत्याउनुहोला । अहिलेसम्म केही काम भएको छैन । यसका लागि चाँडै काम होस् भनेर शुभकामना मात्र दिन सकिन्छ ।’
महानगरका तत्कालीन मेयर शाक्यको कार्यकालमा यो योजनालाई महत्वपूर्ण योजनाका रूपमा अघि सारिएको थियो । तर, काम सुरु नै भएन । आव ०७६/७७ मा नीति तथा कार्यक्रममा समावेश भएको योजनाका लागि तत्कालीन मेयर शाक्यको कार्यकालमा ‘अन्तर्राष्ट्रियस्तरको आधुनिक बुद्धपार्क’ निर्माण गर्ने घोषणा गर्दै दुई करोड रुपैयाँ विनियोजन पनि गरेको थियो । त्यसअघि आर्थिक वर्ष ०७५/७६ मा पनि दुई करोड रुपैयाँ छुट्याइएको थियो । मेयर बालेनको कार्यकाल सुरु भएयता तीनकुनेको पार्क निर्माणका लागि बजेट विनियोजन हुँदै आएको छ । तर, काम भने अगाडि बढ्न सकेको छैन ।