आन्तरिक उडान ठप्प पारेर बसेको वायुसेवा निगम व्यवस्थापनले अन्तर्राष्ट्रिय उडान भर्ने अर्को जहाज पनि ग्राउन्डेड गरेर राखेको छ । न्यारोबडी ‘९एन–एकेडब्लू’ जहाज बैंककबाट २० पुसमा काठमाडौं फर्किएलगत्तै मर्मत नगरी उडान भर्न नपाउने समय सकिएर ग्राउन्डेड गरिएको निगम स्रोतले जानकारी दिएको छ । ग्राउन्डेड भएको जहाज छिटो मर्मत गर्नुको सट्टा ११ दिनदेखि घटना गुपचुप राख्ने प्रयास गरिएको छ ।
स्रोतका अनुसार न्यारोबडी विमान सी–चेकको समय गुज्रिएर ग्राउन्डेड भएको हो । लामो समयसम्म सी–सेचकका लागि एमआरओ छनोट हुन नसकेपछि जहाज ग्राउन्डेड गरेर राख्नुपर्ने बाध्यता आइपरेको हो ।
अहिले ग्राउन्डेड गरिएको एकेडब्लू जहाजको कात्तिक पहिलो साता सी–चेकको तालिका रहे पनि निगम नेतृत्वले नियमित उडान कटौती गरी उडान आवर बचाएर २० पुससम्म विमान उडाएको स्रोतको भनाइ छ । दुई वर्षअघि नै सी–चेकको तालिका तय हुने भए पनि निगमले समयमै एमआरओ छनोट गरेर जहाज मर्मतमा नपाएको ती कर्मचारीको आरोप छ । अर्को न्यारोबडी विमान ९एन–एकेडब्लूको पनि सी–चेकको समय नजिकै आइसके पनि मर्मतकर्ता कम्पनी छनोटको प्रक्रिया थालिएको छैन ।
निगम व्यवस्थापनले आफ्नो चाहनाबमोजिमको कम्पनी छनोट हुन नसक्ने स्थिति बनेपछि बाध्यतापूर्वक चिनियाँ कम्पनी ‘चाइना साउदर्न एयरलाइन्स कम्पनी लिमिटेड सेनयाङ मेन्टेनेन्स बेस चीन’लाई सी–चेकका लागि एमआरओ छनोट गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार निगम नेतृत्वको चाहना आयात–निर्यात (ट्रेडिङ)को काम गर्दै आइरहेको मेटर्स कम्पनीलाई जहाज सी–चेकको जिम्मा लगाउने थियो ।
७ पुसदेखि आन्तरिक उडान ठप्प
ट्विनअटर ९एन–एबिटी २३ जेठदेखि र ९एन–एबियू ७ पुसदेखि ग्राउन्डेड छ । इन्जिनको उडान आवर सकिएर दुवै ट्विनअटर ग्राउन्डेड हुँदा आन्तरिक उडान नै ठप्प भएको छ भने डेढ सयभन्दा बढी कर्मचारी (पाइलट, इन्जिनियर, एयर होस्टेस, अन्य स्टाफलगायत) कामविहीन बनेका छन् । इन्जिन कहिले मर्मत हुन्छ र जहाज कहिलेदेखि उडानमा फर्किन्छ भन्ने जवाफ निगम नेतृत्वसँग छैन ।
सोलुखुम्बुमा उडान रोक्ने वायुसेवा कम्पनीको चेतावनी
दुई सातादेखि हेलिकोप्टर उडान ठप्प रहेको सगरमाथा क्षेत्रमा विवाद झन् चर्किँदै गएको छ । स्थानीयले ९ माघसम्म हेलिकोप्टर उडान गर्न नदिए सोलुखुम्बु जिल्लामा हुने सबै (हेलिकोप्टर र जहाज) उडान ठप्प पार्ने वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ ।
संघले बुधबार विज्ञप्ति जारी गर्दै ९ मंसिरसम्ममा पूर्ण सुरक्षाको प्रत्याभूति गरी समस्या समाधान गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सो समयभित्र समस्या समाधान नभए सोलुखुम्बु जिल्लाभित्र उडान गर्ने स्टल सदस्य वायुसेवा कम्पनीले समेत सम्पूर्ण हवाई सेवा पूर्ण रूपमा स्थगन गर्नुपर्ने अवस्था सिर्जना हुनेछ ।’ अर्थात्, सोलुखुम्बु जिल्लाका सम्पूर्ण एयरपोर्टमा हुने जहाजको उडानसमेत पूर्ण रूपमा ठप्प पार्ने संघको भनाइ छ ।