वर्षा राउत र जोयस पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘हिउँको गीत’को छायांकन सम्पन्न भएको छ। अमेरिकाको ओहायो राज्यको क्लिभल्यान्ड सहरमा हलिउडका चलचित्र छायांकन गरिने सुविधासम्पन्न स्टुडियोमा छायांकन गरिएको चलचित्र पेन्सिलभेनिया राज्यको पिटसबर्ग सहरमा अन्तिम दृश्यको छायांकन गरेसँगै फिल्म सम्पादन चरणमा प्रवेश गरेको हो।
‘साँघुरो’ निर्देशक जोयश पाण्डेयसँगको संयुक्त लेखनमा तयार फिल्मलाई विमल सुवेदीले निर्देशन गरेका हुन्। नेपालीभाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको चलचित्रमा भुटान, नेपाल र अमेरिकामा जन्मे–हुर्केका फरकफरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
एउटा परिवार, तर फरक पुस्ता, परिवेश र अनुभव बोकेका सदस्यमार्फत फिल्मले समग्र नेपालीभाषी भुटानीको आफ्नै देशबाट लखेटिनुअघि सरकारबाट योजनाबद्ध बर्बर यातनादेखि लखेटिएपछि नेपालको शरणार्थी शिविर र अमेरिका आइसकेपछि परिवारका फरक–फरक सदस्यमा देखिने संरचनात्मक र मनोवैज्ञानिक असरलाई कथामा समेटेको निर्माता समुन्द्रराज घिमिरेले बताए।
भारतको नयाँदिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाबाट रंगमञ्चका विभिन्न आयाम अध्ययन गरेपश्चात् नेपाल फर्किएर थिएटर भिलेजमार्फत नाटकलेखन, निर्देशन तथा कला निर्देशन, अध्यापनमा सक्रिय सुवेदीले भुटानी शरणार्थीका विषयमा नेपाल तथा भारतमा थुप्रै काम गरिसकेका छन्। ‘हिउँको गीत’ १२ वर्षअघि बीजारोपण भएको थियो। सुवेदीले पछि यसलाई नाटकको रूपमा भारतमा प्रस्तुत गरे, जसबाट उनले अत्यन्त प्रसिद्ध तीनवटा मेटा अवार्ड पनि जितेका थिए। गत वर्ष अमेरिकामा सोही कथामा ‘हिटलर आउँदै छ’ नाममा सांगीतिक नाटकसमेत बनाएका थिए।
सुवेदीले चलचित्र नेपाली र अंग्रेजी गरी दुई भाषामा फिल्म खिचिएको बताएका छन्। फिल्म सम्पादन, ध्वनि, संगीत, रंग संयोजन तथा पर्दापछाडिका कार्यमा फरक–फरक समूहले समानान्तर रूपमा काम गर्नेछन्। कथ्य संरचना नै बेग्लै रहने अर्को फिल्मको नाम ‘द स्नो इज सिंगिङ’ राखिएको छ।
जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य कार्यकारी निर्माताको रूपमा रहेका छन् भने मनोरथ खनाल, राकेश भट्टराई, रमेश लुइँटेल र पुण्य कुइँकेल सहनिर्माताका रूपमा रहेका छन्। फिल्मलाई ह्याप्पी होम स्टुडियोजको प्रस्तुतिमा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्रराज घिमिरेले निर्माण गरेका हुन्। ओहायो राज्यको एक्रोन, कोलम्बस, पेन्सिलभेनियावरिपरिका नेपालीभाषी भुटानी समुदायको सहजीकरणमा तयार भएको फिल्म निर्माणको अन्तिम चरणसम्म थिएटर भिलेज र गाउँ स्टुडियोले सहकार्य गर्नेछन्।
फिल्ममा वर्षा र जोयशबाहेक पूजा चन्द, आकाश खतिवडा, ईशिर कर्मचार्य, थोमस किथ स्कट, केदार उप्रेती, आर. बी. खड्का, अर्जुन रसाइली, समीर रेग्मी, मनोरथ खनाल, नीलम खनाल, इशान कर्माचार्य, क्रिस्टल पराजुली, एन्जेलिना पराजुली, जोशन रामदाम, निर्मल खनाल, विष्णु रामदाम, मिसेल स्कट, आयुष भट्टराई, नवीन खनाल, जोशिका रामदाम आदिको अभिनय रहेको छ। फिल्ममा पेन्सिलभेनियाको ह्यारिसबर्ग तथा ओहायोको कायाहोगा फल्स, एक्रोन, कोलम्बस, सनसाइन तेक्वान्दो तथा नृत्य एकेडेमी, इन्टा फाउन्डेसनका चार दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन्।
फिल्ममा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका फिल्मकर्मीले काम गरेका छन् । फिल्मलाई चिनइन गाउले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गर्नेछन्। आयुषा सञ्जेल सहायक निर्देशक रहेको फिल्ममा दिकेश खड्गी शाहीको ध्वनि रेकर्ड तथा सम्पादन, देउकुमार राई नेतृत्व समूहको कला निर्देशन, शंकर बिसी र कौशिला खनाल कर्मचार्यको नृत्य निर्देशन रहेको छ। चलचित्रमा कौशिला खनाल कर्मचार्य, आर.बी. खड्का, डम्बर नेपाली, प्रतिमा श्रेष्ठको शब्द तथा कालीप्रसाद बाँस्कोटा, मदन गोपाल, डम्बर नेपाली, अर्जुन रसाइलीको संगीत तथा गायन रहेको छ।