सल्यानबाट यो वर्ष ३५ करोडको सुन्तला निर्यात हुने अनुमान गरिएको छ । गत वर्षभन्दा उत्पादन र बजारमूल्य राम्रो पाएकाले यो वर्ष सुन्तलाको निर्यात बढ्ने कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
कृषि विकास कार्यालयका अनुसार गत वर्ष २९ करोडको सुन्तला निकासी भएकोमा यो वर्ष १० देखि १५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको छ । उत्पादनमा वृद्धि आउनुका साथै क्षेत्रफलमा समेत वृद्धि भएकाले यो वर्ष सल्यानबाट अनुमानित ३५ करोडबराबरको सुन्तला निर्यात हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले जानकारी दिए । उनले सुन्तला सुढृद्धीकरण अभियानसँगै बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि र अनुकूल वातावरण मिलेपछि गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि हुने अनुमान गरिएको बताए ।
सल्यानमा यस वर्ष एक हजार २० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । जसबाट सात हजार ३४४ मेटिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष एक हजार आठ हेक्टरमा सुन्तला फलेको थियो । सुन्तला उत्पादनका हिसाबले सबैभन्दा धेरै बागचौर नगरपालिका ८ र ९ कोटमौलामा उत्पादन हुने गर्दछ । गत वर्ष दुई वडाबाट मात्र १२ करोडको सुन्तला निकासी भएकोमा यो वर्ष झन्डै १५ करोड बढीको सुन्तला निर्यात हुने सूचना अधिकारी घर्तीले बताए । कोटमौलामा मात्र पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेको छ ।
सुन्तला खेतीबाट नै वार्षिक ३० देखि ३७ लाखसम्म आम्दानी हुँदै आइरहेको बागचौर नगरपालिका– ८ कोटमौलामा भरतनाथ योगीले बताए । गत वर्ष ३७ लाख ७७ हजारको सुन्तला बिक्री भएको उनको भनाइ छ । ०३८ सालमा ५० बोटबाट व्यवसाय सुरु गरेका योगीका बारीमा अहिले एक हजारभन्दा बढी सुन्तलाका बोट रहेका छन् । यस्तै, आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका त्रिवेणी गाउँपालिका– ३ पिमखोलाका शशिराम केसीले वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी हुँदै आइरहेको बताए ।
सल्यानको सुन्तला दाङ, बुटवल, पोखरा, कोठमाडाैं, धनगढीसम्म जाने गर्दछ ।