संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। आगलागीबाट बाह्रबिसे बजारका पाँच घर जलेर नष्ट भएका थिए।
हिजो भएको आगलागीबाट करिब एक करोड ५० लाख रुपैयाँबराबरको क्षतिको मूल्यांकन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। आगलागीबाट स्थानीय रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू र सुशील तामाङका २ वटा घर गरी पाँचवटा घर जलेर नष्ट भएको थियो।
आगलागीपीडितहरूलाई सभापोखरी गाउँपालिकाले बिहीबार साढे दुई लाख रुपैयाँबराबरको राहत वितरण गरेको छ। गाउँपालिका अध्यक्ष भीमबहादुर लिम्बूका अनुसार पाँच घरधनी र भाडामा बस्ने पाँच परिवारसहित १० परिवारलाई लत्ताकपडा, ओढ्ने-ओछ्याउने सिरक, डस्ना, तन्ना, सिरानी, भाडाकुँडा, दाल चामल, नुन-मसला र ग्यास चुल्होसहित सिलिन्डर एकसरो सामान वितरण गरिएको हो।
आगलागीपीडितहरूको व्यवस्थापनमा गाउँपालिकाले सक्दो सहयोग गरिरहेको र व्यवस्थापनमा खटिरहेको अध्यक्ष लिम्बूको भनाइ छ। विस्थापित १० परिवारमध्ये रामबहादुर राईको परिवारलाई सभापोखरी–६ स्थित नयाँ बनेको वडा भवनमा राखिएको अध्यक्ष लिम्बूले बताए। अन्य नौ परिवार आफन्तको शरणमा बसिरहेको छ, उनीहरूलाई सहज रूपमा बसोबास गर्न सामुदायिक भवनमा सारिने तयारीमा गरिएको अध्यक्ष लिम्बूको भनाइ छ।
आगलागीपीडितको व्यवस्थापनका लागि सभापोखरी गाउँपालिकाले गाउँपालिका अध्यक्षको स्वकीय सचिव प्रसिद्ध श्रेष्ठलगायत स्थानीय विवेक घले र प्रेम सिंथा लिम्बूलगायत तीनसदस्यीय सहयोग संकलन समिति गठन गरेको छ।
आगलागीपीडितहरूलाई बिहीबार जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत वितरण गरेको छ। संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको टोलीले पाँचजनाभन्दा बढी परिवार हुने परिवारलाई २० हजार रुपैयाँ, ५ जनाभन्दा कम सदस्य हुने परिवारलाई १५ हजार रुपैयाँका दरले राहत वितरण गरेको संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। उनका अनुसार आगलागीमा परेको पाँच परिवारमध्ये तीनजनालाई नगद १५ हजार र एकजनालाई नगद २० हजार रुपैयाँ राहत वितरण गरेको बताए।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी संखुवासभाले लत्ताकपडा, भाँडाकुडा र त्रिपाललगायतका सामान वितरण गरेको थियो। यस्तै, अलैँची व्यवसायी महासंघ संखुवासभाले नगद १५ हजार रुपैयाँ, संखुवासभा वितरण संघले नगद १२ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए।