वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा कानुन अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्कने क्रममा अदालतपरिसरमा जम्मा भएका रास्वपा समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा आज नेपाल कानुन क्याम्पस प्रदर्शनीमार्ग अगाडि प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘कानुन व्यवसायीलाई कुट्न पाइँदैन,’ ‘मुद्दा लड्नु कानुन व्यवसायीको पेसागत धर्म हो,’लगायतका नारा लगाउनुका साथै प्लेकार्ड प्रदर्शन गरेका छन्।
त्रिपाठीले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए। रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालतपरिसरमै त्रिपाठीमाथि लछारपछार भएको थियो।