अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा केही धनीहरूको वर्चस्व बढिरहेको बताएका छन् । स्थानीय समयअनुसार बुधबार राति राष्ट्रपतिका रूपमा आफ्नो अन्तिम सम्बोधन गर्दै उनले धनीहरूको वर्चस्व बढ्दा अमेरिकी लोकतन्त्र खतरामा परेको बताएका छन् ।
‘देशमा धनीहरूको सानो वर्गको वर्चस्व बढ्दै छ। यसले देश र लोकतन्त्रलाई खतरा पुर्याइरहेको छ,’ बाइडेनले भने । आफ्नो सम्बोधनमा उनले प्रविधि र औद्योगिक क्षेत्रको एकाधिकार बढिरहेकोप्रति पनि चिन्ता प्रकट गरे । यो ‘अमेरिकी नागरिकका अधिकारहरूका लागि खतरनाक’ रहेको उनको टिप्पणी थियो ।
आफ्नो कार्यकालको समीक्षा गर्दै उनले भने, ‘हामीले जुन कार्यहरू गरेका छौँ, त्यसको असर देखिन केही समय लाग्नेछ, तर बिउ रोपिसकिएको छ। ती बढ्नेछन् र आउने दशकहरूमा फक्रनेछन्।’
बुधबार बिहान सार्वजनिक गरिएको एक विज्ञप्तिमा उनले आफूले सार्वजनिक गरेका केही प्रतिबद्धताहरू पूरा गर्न नसकेको स्वीकार गरेका छन् ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हाल्नु ठिक पाँच दिन पहिले बाइडेनले दिएको अन्तिम भाषणमा उनले आफ्नो पाँच दशक लामो राजनीतिक यात्राको पनि चर्चा गरे ।
‘संसारमा केवल अमेरिकामा मात्र यस्तो सम्भव छ, जहाँ एक भकभकाउने बच्चा पनि राष्ट्रपति बन्न सक्छ।’ बाइडेनलाई बाल्यकालमा भकभकाउने समस्या थियो ।
बाइडेनले यसअघि सोमबार राजधानी वासिंगटनमा विदेश नीतिबारे आफ्नो अन्तिम सम्बोधन गरेका थिए। उक्त सम्बोधनमा उनले चीन कहिल्यै अमेरिकाभन्दा अगाडि बढ्न नसक्ने दाबी गरेका थिए ।
साथै, उनले अफगानिस्तानमा युद्ध अन्त्य गर्ने आफ्नो निर्णयलाई पनि उचित ठहर गरेका थिए। बाइडेनको कार्यकालमै अगस्ट २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फर्किएको थियो ।
२० वर्षदेखि त्यहाँ तैनाथ अमेरिकी सेना फर्काएसँगै यसलाई अमेरिकी इतिहासको सबैभन्दा लामो युद्ध अन्त्य भएको मानिन्छ ।
उनी अमेरिकी इतिहासमा राष्ट्रपतिको बहसपछि चुनावी मैदान छाड्ने पहिलो राष्ट्रपति हुन् । उनी अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति पनि हुन् । राष्ट्रपतिको शपथ गर्दा उनी ७८ वर्ष २२० दिनका थिए । जबकि ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्दा ७८ वर्ष ६१ दिनका हुनेछन् ।
अमेरिकी संविधानअनुसार ट्रम्प तेस्रोपटक राष्ट्रपति बन्न सक्दैनन्। यस्तोमा, केही वर्षसम्म बाइडेनको यो रेकर्ड कायम रहनेछ।