मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 16 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ३ बिहीबार १३:o४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

होटेल संघको आयोजनामा सत्कार दिवस सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार १३:o४:oo

होटेल संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा माघ २ गते नेपाल सत्कार दिवस २०२५ सम्पन्न गरेको छ। गत वर्षबाट सुरु गरेको सत्कार दिवस प्रत्येक वर्ष मनाउने होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए।

अध्यक्ष शाहले यस दिवसमा होटेल क्षेत्रमा हासिल भएका उपलब्धि, सामना गरिएका चुनौतीहरू र भावी योजना तथा कार्यक्रमहरूको प्रस्तुति गर्न तथा होटेल क्षेत्रले देश, जनता, आर्थिक विकास र समग्र पर्यटनबाट भएको एवं हुन सक्ने समृद्धिको लेखाजोखा हुने बताए।

उनले राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकलाई उदृत गर्दै नेपालमा एक लाख ४२ हजारभन्दा बढी होटेल तथा रेस्टुरेन्टहरु सञ्चालनमा रहेको, एक लाख १६ हजारभन्दा बढी होटेल कोठा उपलब्ध रहेको, नेपालमा रेस्टुरेन्टहरूले २२ लाख ग्राहकहरूलाई सेवा दिन सक्ने क्षमता रहेको उल्लेख गरे। तथ्यांकले देखाएजस्तै प्रत्येक महिनाजस्तो खुलेका अन्तर्राष्ट्रिय ब्रान्डका ठुला तारेहोटेलले नेपालमा झन्डै ३५ लाख पर्यटक–ग्राहकलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास गरेको तथ्यले नेपालको पर्यटन बजारमा बढ्दो उत्साहवर्द्धक आपूर्तिको स्थिति इंगित गरेको उनको भनाइ थियो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संघबाट प्रकाशित नेपाल होटेल इयर बुक विमाेचन गर्दै यस किसिमको सत्कार दिवसले सिंगो पर्यटन क्षेत्र तथा सरोकारवालाहरूलाई एकैथलोमा राखी मुलुकको समग्र पर्यटनको विषयवस्तुहरू यकिन हुने कार्यक्रम ज्यादै महत्त्वपूर्ण रहेको बताए।

उनले राज्यले पर्यटन क्षेत्रलाई नजिकबाट हेरेको र मुलुकको पर्यटनलाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय तथा सिंगो सरकार लागिपरेको बताए।  उनले निजी क्षेत्रसँगको समन्वयविना पर्यटनलाई अगाडि बढाउन नसकिने जिकिर गर्दै मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेत्रसँगको सहकार्य गर्दै आइरहेको पनि बताए।

कार्यक्रममा विभिन्न समयमा आयोजना गरिएका भ्रमण वर्षका संयोजकहरूलाई सम्मानसमेत गरिएको थियो। उक्त सम्मान नेपाल भ्रमण वर्ष १९९८ का संयोजक कर्ण शाक्य, नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य र नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यलाई प्रदान गरिएको हो।

उक्त अवसरमा मुलुकमा रैथाने खाना प्रवर्द्धनमा सघाउ पुर्‍याने मूर्धन्य सेफहरूलाई समेत सम्मान गरिएको थियो भने कार्यक्रमलाई सघाउ पुर्‍याउने विभिन्न प्रायोजकहरूलाई पनि सम्मान गरिएको थियो।