नबिल बैंकले राउटे समुदायमा नि:शुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल)को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । नबिलको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको शिविर कार्यक्रममा ४८ राउटे परिवारका १३७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ५९ जना महिला र ७८ जना पुरुष रहेका थिए ।
यो शिविर कार्यक्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार विशेषज्ञ चिकित्सकको टोलीले राउटे समुदायमा मौसमी रुघाखोकी, निमोनिया, छाला रोग, ग्यास्ट्रिक, तथा महिलाहरूमा पाठेघर र ढाड दुखाइका समस्या परीक्षण गरी औषधि वितरण गरेको थियो । जुका, भिटामिन, र आइरन चक्कीजस्ता औषधि पनि उपलब्ध गराइएको बैंकले जनाएको छ ।
राउटे समुदायमा पोषणको कमी, अस्वस्थ जीवनशैली, र सरसफाइको अभावका कारण विभिन्न रोग देखापर्ने समस्या रहेको कारण यो समाजलाई केन्द्रित गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । स्वास्थ्य शिविरले राउटे समुदायका व्यक्तिहरूको स्वास्थ्य जाँच, सरसफाइको महत्वबारे जागरुकता, र स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराएको उनको भनाइ छ ।