पदमुक्त हुँदै गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले १३ जनवरीमा एक भाषण दिएका छन् । उनले चीनको विषय उठाउँदै एक समय विज्ञले चीनको अर्थतन्त्र अमेरिकाभन्दा अगाडि जाने भविष्यवाणी गरे पनि चीनले कहिल्यै अमेरिकालाई उछिन्न सक्दैन भनेका छन् । यसले चीनलाई ‘सबैभन्दा ठुलो रणनीतिक प्रतिस्पर्धी’ मान्ने वासिंटनको मानसिकता अझै कायम छ भन्ने देखाउँछ । तर, वास्तवमा ‘शून्य–योग’ खेलको अन्त्य नगरी वासिंटनले आफ्नो रणनीतिक चिन्ता हटाउन सक्दैन । सोही दिन बाइडेन प्रशासनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग सम्बन्धित निर्यात नियन्त्रण उपायको घोषणा गरेको छ, जसले अमेरिकी सेमिकन्डक्टर उद्योग र युरोपियन युनियनलगायत धेरै पक्षबाट विरोध र असहमति निम्त्याएको छ । अमेरिकी कम्पनीलाई चीनजस्ता केही देशसँग व्यापार गर्न प्रतिबन्ध लगाउँदा अमेरिकी उद्योगलाई फस्टाउन कठिन भइरहेको छ । सेमिकन्डक्टर उद्योग संघका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जोन न्युफरले भनेझैँ यो नयाँ नियम ‘उद्योगको कुनै पनि अर्थपूर्ण सुझबुझबिनै हतारमा लागू गरिएको’ हो र यसले अमेरिकाको अर्थतन्त्र एवं सेमिकन्डक्टर तथा एआई क्षेत्रमा विश्वव्यापी प्रतिस्पर्धामा दीर्घकालीन क्षति पुर्याउनेछ ।
‘एनभिडिया’ले आफ्नो आधिकारिक वेबसाइटको एक पोस्टमा नयाँ निर्यात नियमले अमेरिकाको सुरक्षा सुधार गर्न असफल हुने भन्दै आलोचना गरेको छ र ती नियम पुरानो एकको सम्पूर्ण हारमा अर्काको लाभ हुने ‘शून्य–योग’ सोचको परिणाम भएको बताएको छ । आजको परस्पर निर्भर विश्वमा राष्ट्रबिचको सम्बन्धले ‘तिम्रो हार, मेरो जित’भन्दा ‘दुवैको जित’ भन्ने सहकार्यलाई प्राथमिकता दिनुपर्छ । वैश्विक चुनौतीको सामना सामूहिक प्रयासबाट मात्र सम्भव छ न कि प्रभुत्वको मानसिकताबाट । महाशक्तिबिचको सम्बन्धलाई शून्य–योगको दृष्टिकोणले हेर्दा टकराव र संकट निम्तिन्छ, तर विविध संस्कृति र विकास मार्गलाई स्वीकार गर्दा मानव सभ्यताको प्रगतिका लागि धेरै सम्भावना खुल्छ ।
यस यथार्थलाई गम्भीर ढंगले ग्रहण गर्दै चीनले मानवताको साझा भविष्य निर्माण गर्ने अवधारणा र तीनवटा ठुला विश्वव्यापी पहल प्रस्ताव गरेको छ । चीनको विकासको प्रमुख प्रेरणा आफैँलाई उछिन्नुमा छ, न कि अमेरिकालाई प्रतिस्थापन गर्नुमा । चीनको विकास आफ्ना जनताको सहज एवं समृद्ध जीवनको बढ्दो आवश्यकता पूरा गर्नबाट सुरु हुन्छ र समाप्त पनि त्यहीँ हुन्छ, न कि अमेरिकासँग ‘तिमी हार अनि म जित्छु’ भन्ने प्रतियोगितामा छ । चीनले समानता, आपसी शिक्षण, संवाद र समावेशिताको सभ्यतामूलक दृष्टिकोणमा जोड दिएको छ । यसले विभिन्न देश र सभ्यताबिच सहयोगको पुल निर्माण गर्दै विश्वलाई स्थिरता र निश्चितता प्रदान गरिरहेको छ ।
शीतयुद्धकालीन मानसिकताबाट चीनको विकासलाई दबाउन वासिंटनले गरेको प्रयास अमेरिकी अर्थतन्त्र र समाजका विभिन्न क्षेत्रका आधारभूत हित मात्र नभई विश्वभरका अन्य मुलुकको हितको समेत विपरीत छ । गत केही दशकमा ‘क्वालकम’ र ‘एप्पल’जस्ता अमेरिकी कम्पनीको सफलता प्रायः चिनियाँ माग र उपभोगले सम्भव भएको छ । ‘चीनको विकाससँग सही ढंगले कसरी व्यवहार गर्ने ?’ भन्ने प्रश्नमा वासिंटनले पटक–पटक गलत उत्तर रोजेको छ ।
चीनका क्रेन, ड्रोन, विद्युतीय सवारीसाधन, चिप निर्माण वा एआईको विकासमा अमेरिकाले बारम्बार ‘सुरक्षाको अवधारणा विस्तार’ गर्ने वा ‘अतिरिक्त उत्पादन क्षमताको हल्ला’गर्दै चीनको प्रगतिलाई परिभाषित गर्ने प्रयास गर्छ । यसबाहेक ‘सैन्य सम्बन्धित कालोसूची’ वा ‘दण्डात्मक महसुल’जस्ता उपायमार्फत चीनको विकासलाई रोक्न खोजिन्छ । तर, चीनको प्रगति र विकास अविरल छ । चीनको भूमिकाले विश्व आपूर्ति शृंखलामा बढ्दो महत्व प्राप्त गरिरहेकाले वासिंटनले केही चिनियाँ कम्पनीलाई लगाएको प्रतिबन्धले आपूर्ति शृंखलाका सम्पूर्ण साझेदारलाई प्रभाव पारिरहेको छ ।
वर्तमान अवस्थामा चीन र अमेरिकाबिचको साझा हित घटेको छैन, बरु यो थप बढेको छ । यो भावना दुवै देशका व्यवसाय र बहुसंख्यक जनताले साझा गर्छन्, जुन आपसी सहकार्यका लागि महत्वपूर्ण आधार हो । सन् २०२४ मा चीनमा टेस्लाको बिक्री ६ लाख ५७ हजार एकाइभन्दा माथि पुग्यो, जसले वार्षिक रूपमा ८.८ प्रतिशत वृद्धिको नयाँ कीर्तिमान स्थापित गर्यो । स्टारबक्सले पनि गत वर्षको चौथो त्रैमासिकमा चिनियाँ मुख्य भूभागमा दुई सय ९० नयाँ स्टोर थप्दै ७८ काउन्टीस्तरका बजारमा प्रवेश गरेको छ ।
सन् २०२४ सम्म चीनमा ७३ हजार अमेरिकी कम्पनी स्थापना भइसकेका छन्, जसको कुल लगानी १२ खर्ब डलरभन्दा बढी छ । यो लगानी इलेक्ट्रोनिक्स, अटोमोबाइल निर्माण, उपभोक्ता सामग्री र वित्तीय सेवाजस्ता विभिन्न क्षेत्रमा फैलिएका छन् । वासिंटनले ‘चीनसँग प्रतिस्पर्धा गर्ने’ आफ्नो जिद्दी त्याग्न सकेको खण्डमा दुवै देशबिचको सहकार्यको सम्भावना थप ठुलो हुन सक्थ्यो । अमेरिकामा भइरहेका कुनै पनि परिवर्तनबाट प्रभावित नभई चीनले चीन–अमेरिका सम्बन्धलाई परस्पर सम्मान, शान्तिपूर्ण सहअस्तित्व र साझा जितको सहकार्यका तीन सिद्धान्तका आधारमा अघि बढाउन जारी राख्नेछ । वासिंटनको चिन्ताको भावना चीनले होइन, स्वयं अमेरिकाले सिर्जना गरेको हो । यो चिन्ता निवारणका लागि चीनका एक अर्ब ४० करोडभन्दा बढी जनताको अस्तित्व र विकासका अधिकारलाई स्विकार्नु र मान्यता दिनु अत्यन्त आवश्यक छ । यसबाहेक एकपक्षीय प्रभुत्व कायम गर्ने हठी सोचलाई त्यागेर चीन र अमेरिकाबिच सहकार्य एवं आपसी लाभको सम्भावनामा विश्वास राख्नुपर्छ ।
(१५ जनवरी बुधबारको ग्लोबल टाइम्सको सम्पादकीयबाट)