मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 16 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ३ बिहीबार o७:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

समाजवादी मोर्चाले सरकारको गलत कामको भन्डाफोर गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार o७:५९:oo

समाजवादी मोर्चाले सरकारका गलत कामको भन्डाफोर गर्ने भएको छ । मोर्चाले आगामी १६ माघमा काठमाडौंकेन्द्रित आमसभा गर्ने निर्णय पनि गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवको अध्यक्षतामा बुधबार बसेको बैठकले काठमाडौंकेन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो । 

‘सरकारले राम्रो काम गर्न सकेन । सरकारले गरेका गलत काम जनतालाई बताउन मोर्चाको कार्यक्रम तय गरेका छौँ,’ एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसालले भने ।

बैठकपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बैठकमा मोर्चाको आठौँदेखि नवौँ बैठकको बिचको गम्भीर समीक्षा भएको बताए ।

‘सुरुमा समाजवादी मोर्चाको गठन र तय भएका कार्यक्रमले देशैभर ठुलो ह्विम क्रिएट भएको थियो । कम्युनिस्ट क्रान्तिकारी, देशभक्तहरूमा र आमजनतामा उत्साह पनि पैदा भएको थियो । तर, बिचमा पार्टीका आन्तरिक कामका कारणले समाजवादी मोर्चाको कार्यक्रम अघि बढाउने सन्दर्भमा हाम्रो गति थोरै धिमा भयो । आगामी दिनमा कमजोरी दोहोरिन नदिने गरी अघि बढ्छौँ,’ उनले भने ।

समाजवादी मोर्चाका आगामी योजना बनाएर शीर्ष नेतालाई बुझाउने जिम्मा कार्यदललाई दिइएको छ । यसअघि गत १ साउनमा दस्ताबेज तयार पार्न कार्यदल गठन भए पनि हालसम्म दस्ताबेज टुंगिएको छैन ।

कार्यदलमा माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ छन् ।

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने लक्ष्यसहित ४ असार ०८० मा समाजवादी मोर्चा गठन भएको थियो । तर, मोर्चा आफैँले घोषणा गरेका कार्यक्रम अलपत्र छन् ।