हनुमानढोकास्थित कालभैरव मूर्तिसँगै रहेको तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौंको भवन भत्काएर खाली गर्नुपर्ने माग राख्दै एक वर्षदेखि सम्पदाप्रेमी यादवलाल कायस्थ विभिन्न निकाय धाइरहेका छन् । भूकम्पपछि ढल्ने अवस्थामा रहेको जोखिमपूर्ण भवनको संरचना हटाउन उनले हारागुरार गरे पनि गृह मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, वसन्तपुर हेरचाह अड्डालगायतले बेवास्ता गरेका छन् ।
यो भवनको लालपुर्जा प्रहरीको नाममा छ । तर, वसन्तपुर दरबार क्षेत्रलाई समेत कुरूप बनाइरहेको थोत्रो भवन भत्काएर सो ठाउँ खाली वा सम्पदामैत्री सांस्कृतिक भवन बनाउनुपर्ने माग सम्पदाप्रेमी र स्थानीयको छ । ‘यो जोखिम अवस्थामा रहेको भवन हटाउने भनेर धेरै निकाय धाइसकेँ, तर उनीहरूले सुनेनन्,’ कायस्थले भने, ‘विश्वसम्पदा क्षेत्रलाई खुला गर्नुपर्छ, पुरानो प्रहरी भवन भत्काएर खुला राख्नुपर्छ, अहिले प्रहरी कार्यालय भएको क्षेत्र कुरूप देखिएको छ, यो हटाउँदा सम्पदा क्षेत्र व्यवस्थित र सुन्दर देखिन्छ ।’
अव्यवस्थित अवस्थामा रहेको भवनलाई हटाउन माग गर्दै कायस्थसहितको टोलीले गत १४ पुसमा गृहमन्त्री रमेश लेखकलाई भेटेको थियो । लेखकले नेपाल प्रहरीसँग समन्वय गरेर समस्या समाधान गर्ने बताएका थिए । अभियन्ताहरूले सो भवन हटाउन र त्यस ठाउँलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे पुरातत्व विभाग, महानगर, प्रशासन, अभियन्ता, स्थानीयलगायतको संयुक्त कार्यसमिति बनाउन माग गरेका थिए । तर, हालसम्म यसबारेमा गृह मन्त्रालयले समेत चासो नदिएको कायस्थको गुनासो छ ।
‘पुरातत्व, प्रहरी, महानगरलगायत सबै निकायका व्यक्तिलाई स्थलगत अवलोकन गराइसकेँ, तर कसैले पनि यसबारे चासो दिनुभएको छैन, भवन ढल्ने अवस्थामा छ, कतिपय प्रहरी अझै त्यहीँ बस्नुभएको छ, यो सुरक्षाको हिसाबले पनि राम्रो भएन,’ कायस्थले भने, ‘सम्पदा क्षेत्रमा बस्ने प्रहरी र उसको पोसाक तथा भवन सम्पदामैत्री नै हुनुपर्छ, तत्कालका लागि जोखिमपूर्ण भवन हटाउनको विकल्प नै छैन ।’
स्थानीय र पुरातत्व विभागले यो भवन भत्काएर खाली गर्न माग गर्दै आए पनि नेपाल प्रहरीले असहमति जनाउँदै आएको छ । प्रहरीले साढे दुई रोपनी क्षेत्रफलमा रहेको भवनमा वसन्तपुरको ऐतिहासिकतासँग मिल्ने गरी प्रहरीकै म्युजियम बनाउने योजना अघि सार्ने तयारी गरेको छ । साथै, भवन भएको जग्गा नेपाल प्रहरीकै नाममा रहेकाले त्यसलाई प्रहरीकै प्रयोजनमा ल्याउन नेपाल प्रहरीको अडान छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सो भवन प्रहरीको इतिहाससँग जोडिएकाले यसबारे सोचेर निर्णय हुने बताए । ‘यो प्रहरीको इतिहाससँग जोडिएको विषय हो, त्यो ठाउँको सट्टा नेपाल सरकारले निर्णय गरेर प्रहरीलाई अर्को स्थानको जग्गा दिने हो कि ? त्यो ठाउँमा पर्यटक प्रहरीका रूपमा विकास गर्ने वा प्रहरी संग्रहालय बनाउने कि भन्नेमा छलफल चलिरहेको छ,’ उनले भने, ‘यो निर्णय माथिल्लो निकायबाट सम्बोधन हुनुपर्छ । जग्गाको लालपुर्जा नेपाल प्रहरीको नाममा रहेकाले हाम्रो इतिहाससँग जोडिएको छ ।’
हाल जिल्ला प्रहरी परिसर काठमाडौं टेकु हुँदै रामशाहपथमा सरिसकेको छ । ०१२ देखि ०७२ सम्म परिसरको कार्यालय हनुमानढोकामै थियो । ०७२ को भूकम्पका कारण हनुमानढोकास्थित कार्यालयमा क्षति पुगेपछि टेकुमा सरेको थियो । भूकम्पले चर्किएको यस भवनमा अहिले भने सुरक्षार्थ केही प्रहरी मात्रै बस्दै आएका छन् ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठका पालामा उक्त भवन भत्काएर खुला गर्न टिप्पणी उठाइएको थियो । त्यसमा काठमाडौं महानगर, स्थानीयवासी, पुरातत्व विभागले हस्ताक्षर गरेका थिए । तर, सम्पदा क्षेत्रको प्रहरी भवन हटाउनेबारे हालसम्म कुनै तयारी भने नगरेको सम्पदाप्रेमी कायस्थले जानकारी दिए । वसन्तपुरका स्थानीय गौतम शाक्यले पनि उक्त प्रहरी भवन हटाएर त्यस ठाउँलाई खाली राख्नुपर्ने वा म्युजियम बनाउनुपर्ने बताए ।
भवन जीर्ण तथा जोखिमपूर्ण भए पनि यहाँ आठ–नौजना प्रहरी बस्छन् । काठमाडौं महानगरपालिकाले नगर प्रहरी खटाए पनि प्रभावकारी नदेखिएपछि दिउँसोको समयमा पनि वसन्तपुरवरिपरि नेपाल प्रहरीले नै सुरक्षा दिँदै आइरहेको छ । वसन्तपुरनजिकै जुद्ध सालिकसँगै जनसेवा प्रहरी वृत्त छ । नजिकै प्रहरी वृत्त रहेकाले यस क्षेत्रको सुरक्षाका लागि पुरानो भवनमा प्रहरी बस्नु नपर्ने स्थानीयको दाबी छ । तर, स्थानीयको मागप्रति नेपाल प्रहरी सहमत छैन ।
पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले पुरातत्व विभाग पनि सो भवन हटाउनुपर्ने पक्षमा रहेको बताइन् । ‘यो भवन पुरातात्विक होइन, तर जोखिम अवस्थामा छ, ऐतिहासिक ठाउँमा यस्तो भवन राख्नुहुँदैन, यसलाई हामीले पनि भत्काउनुपर्छ भन्ने धारणा राख्दै आएका छौँ,’ उनले भनिन्, ‘तर, भवन प्रहरीको हो, त्यसैले हामीले चाहेर मात्रै भएन ।’