कर्णाली प्रदेशले आर्थिक वर्ष ०७८/७९ देखि किसानलाई अनुदान दिएर दुध उत्पादन वृद्धिका लागि प्रोत्साहन गरिरहेको छ ।
पशुपक्षी विकास निर्देशनालय, सुर्खेतका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीका अनुसार कालीकोट, मुगु, हुम्ला र डोल्पाका किसानलाई प्रतिलिटर १० रुपैयाँ र जुम्ला, जाजरकोट, दैलेख, पश्चिम रुकुम, सुर्खेत तथा सल्यानका किसानलाई प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान वितरण भइरहेको छ ।
गत आर्थिक वर्ष ०८०/८१ मा तीन हजार सात ७६ दुग्ध उत्पादक कृषकलाई एक करोड २३ लाख रुपैयाँ अनुदान वितरण गरिएको निर्देशनालयले जनाएको छ ।
सुर्खेतमा सबैभन्दा बढी दुई हजार ४१ किसानलाई २८ लाख ४८ हजार आठ सय ७५ लिटर दुधको ४९ लाख २९ हजार रुपैयाँ अनुदान दिएको छ । त्यस्तै, सल्यानमा ६ सय ४१ किसानलाई दुई लाख ६६ हजार आठ सय ९५ लिटर दुधका लागि १३ लाख ३४ हजार चार सय ८० रुपैयाँ अनुदान दिएको छ । रुकुमपश्चिममा चार सय ७७ जना किसानलाई तीन लाख दुई हजार एक सय ८७ लिटर दुधमा १५ लाख वितरण भएको छ ।
जाजरकोटमा ७१ किसानलाई ८४ हजार चार सय ६ लिटरको चार लाख २२ हजार रुपैयाँ अनुदान दिएको छ । दैलेखमा चार सय ३४ किसानलाई दुई लाख १० हजार पाँच सय ३० लिटर दुधको अनुदानमा १० लाख ५३ हजार रुपैयाँ खर्च भएको छ ।
कालीकोटमा एक सय चारजना किसानलाई ७० हजार लिटर दुधको सात लाख अनुदान दिइएको छ । हुम्लामा आठजना किसानलाई आठ हजार पाँच सय ३६ लिटर दुधको ८५ हजार रुपैयाँ खर्च गरिएको छ । मुगुमा पाँच लाख र जुम्लामा दुई लाख दुधमा अनुदानका लागि बजेट विनियोजन गरिएको भए पनि खर्च नभएको निर्देशक पंगेनीले बताए ।
चालू आर्थिक वर्ष ०८१/८२ मा दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन अनुदानका लागि एक करोड २७ लाख आठ हजार विनियोजन भएको उनले बताए ।
‘कर्णालीका सबै जिल्लामा अनुदानका लागि रकम विनियोजन भएको छ,’ उनले भने, ‘सुर्खेतमा किसानलाई दुधमा अनुदान दिने काम भएको छ । अन्य जिल्लामा सूचना जारी गरिएको छ ।’ डोल्पामा दुध डेरी नभएका कारणले दुध उत्पादनमा अनुदान नपाएका हुन् ।