मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 16 January, 2025
२o८१ माघ ३ बिहीबार o९:५६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बर्दियाकाे जब्दीघाटमा बन्ने भो पुल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार o९:५६:oo

बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोेड्ने जब्दीघाटमा पुल निर्माण हुने भएको छ । अर्थ मन्त्रालयले हालै एक अर्ब एक करोड २९ लाख रुपैयाँ बजेट सुनिश्चितता गरेपछि पुल निर्माण प्रक्रिया सुरु हुने भएको हो । 

अर्थ मन्त्रालयले बजेट सुनिश्चितता दिइसकेकाले अबको केही समयमै ठेक्का प्रक्रिया सुरु हुने सडक डिभिजन कार्यालय बाँकेका प्रमुख नरेन्द्र भट्टले बतए । ‘हाल स्रोत सहमति पाएका छौँ, अब पुल निर्माण प्रक्रिया सुरु गर्ने बाटो खुल्यो,’ उनले भने, ‘अब लागत अनुमान स्वीकृतिको प्रक्रिया अगाडि बढाउँछौँ, एक महिनाभित्रमा टेन्डर प्रक्रिया सुरु हुन्छ ।’

डिजाइन एन्ड बिल्ड (सर्भे र निर्माण)का लागि एकैपटक टेन्डर आह्वान गरिने उनले बताए । जुन निर्माण कम्पनीले निर्माण गर्ने हो, सोही कम्पनी सर्भे गरेर निर्माण स्वीकृति लिई पुल निर्माण गरिने कार्यालयले जनाएको छ । पुल निर्माणपछि बारबर्दिया नगरपालिका सदरमुकाम गुलरियासँग प्रत्यक्ष जोडिनेछ ।

०७४ को बाढीमा पुल निर्माण भएर हस्तान्तरण नहुँदै जब्दीघाटको पुल भासिएको थियो । सोही पुलबाट जोखिम मोलेर स्थानीय आवतजावत गरिरहेका थिए । ०७९ को बाढीले पुल पूर्ण रूपमा भत्किएपछि आवतजावत नै ठप्प भएको थियो ।

हाल बारबर्दियावासी सदरमुकाम पुग्न बर्सातमा डुंगाको भरमा नदी तर्ने गरेका छन् भने हिउँदयाममा पैसा तिरेर काठको पुल तर्न बाध्य छन् । पुल नहुँदा सास्ती पाएपछि विभिन्न तवरबाट पुल निर्माणका सरकारसँग माग गर्ने र दबाब दिने कार्य भइरहेको थियो ।