पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ठुला परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन पत्रकारिता क्षेत्रले ठुलो भूमिका निर्वाह गरेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले समाज परिवर्तनका लागि सकारात्मक समाचार सम्प्रेषण गरेर सञ्चारकर्मीले दायित्व निर्वाह गरिरहेको बताए । सूचनाको युग चलिरहेको र प्रविधिको उच्च प्रयोगले चुनौतीसमेत थपिएकाले पत्रकार महासंघले सूचना प्रविधि क्षेत्रको समस्या समाधानतर्फ क्रियाशील हुनुपर्ने उनको सुझाव थियो । ‘बदनिययपूर्ण ढंगले हुने कुप्रचारलाई रोक्न पनि पत्रकार महासंघले काम गरोस्,’ उनले भने । आफू प्रधानमन्त्री छँदा भ्रष्टाचार नियन्त्रणका लागि क्रियाशील रहेको र अहिले प्रतिपक्षमा हुँदासमेत सोही मुद्दालाई उठाइरहेको उनले बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले समाज विकासका लागि सञ्चार जगतले सन्तुलित भूमिका खेलिरहेको बताए । जनतामा निराशा र आशंका बढिरहेकाले सुशासनको ‘ओठे भक्ति’ गाउन छाडेर नजिता देखिने गरी काम गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए । ‘भ्रष्टाचार नियन्त्रण गर्न सबै दलबिच एउटा मानक बनाएर अघि बढौँ । मुखले ओठे भक्ति मात्रै गाउँदै नहिँडौँ,’ उनले भने । त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लोकतान्त्रिक आन्दोलनहरूमा मिडियाले खेलेको भूमिका प्रशंसनीय भएको बताए ।
पत्रकार महासंघले सबै सञ्चारकर्मीको श्रमको मुद्दा र सामाजिक सुरक्षाका विषयमा ध्यान दिनुपर्ने उनको सुझाव थियो । ‘जनतालाई सोचेअनुसारको सूचना प्रवाह गर्ने दायित्व सञ्चारकर्मीले पूरा गर्न सक्नुपर्छ,’ उनले भने । पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पक्ष–विपक्षमा नलागी साझा चौतारीका रूपमा महासंघले सञ्चारकर्मीका समस्या हल गर्ने कार्यादेश अवलम्बन गर्ने बताइन् ।
गत २८ मंसिरमा भएको निर्वाचनमा काठमाडौं जिल्ला शाखामा शोभा अर्यालको नेतृत्वमा कार्यसमिति निर्वाचित छ । सो समितिलाई सूर्य सुवेदी नेतृत्वको अघिल्लो कार्यसमितिले पद हस्तान्तरण गरेको हो ।