ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ । बिहीबारदेखि बैंक १९औँ वर्षमा प्रवेश गर्दै छ ।
उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने नि:शुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ ।
शिविरमा स्त्रीरोगविज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू जस्तै, महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भिआइए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायत सेवा नि:शुल्क रूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।
बैंकले सबै प्रदेशमा यही पुस महिनामा उक्त शिविर सञ्चालन गर्नेछ । जसअन्तर्गत बैंकले बागमती प्रदेशमा हेटौँडा उपमहानगरपालिका वडा नं ११ मकवानपुरस्थित सरस्वती टोल हलमा पुस १८ गते बिहीबार र मधेश प्रदेशमा कलैया उपमहानगरपालिका वडा नं १, बारास्थित राजदेवी मन्दिर हलमा शिविर सञ्चालन गर्नेछ । त्यसैगरी, गण्डकी प्रदेशमा मोदी गाउँपालिका वडा नं १ पर्वतस्थित भुक स्वास्थ्य चौकीमा पुस २० गते शनिबार, कोशी प्रदेशमा विराटनगर महानगरपालिका वडा नं १२, मोरङस्थित आधारभूत स्वास्थ्य चौकी, बर्खी टोलमा पुस २१ गते सोमबार, लुम्बिनी प्रदेशमा सैनामैना नगरपालिका वडा नं ११, रुपन्देहीस्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा पुस २३ गते बुधबार, कर्णली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका वडा नं २ सुर्खेतस्थित दौलाटपुर स्वास्थ्य चौकीमा पुस २६ गते शनिबार र सुदूरपश्चिम प्रदेशमा गोदावरी नगरपालिका वडा नं ८ कैलालीस्थत स्याउले आधारभूत स्वास्थ्य चौकीमा पुस २८ गते सोमबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको बैंकले जनाएको छ । स्वास्थ्य शिविर ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ ।