भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरूलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । सडक बोर्ड नेपालको २२औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । अब बन्ने संरचनाहरूले देशको समृद्धि यात्रामा कति महŒव राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको उनले बताए । नेपाल अझै पनि निर्माणकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले अब बन्ने संरचनाहरूलाई दिगो, सुरक्षित र उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।
जनजीविका, राजस्व संकलन, आर्थिक क्रियाकलाप तथा बृहत् जनसंख्या र भूगोललाई प्रत्यक्ष फाइदा पुर्याउने योजनाहरूमा मन्त्रालयले प्राथमिकता दिएको भन्दै मन्त्री दाहालले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्नुपर्नेसमेत बताए । कार्यक्रममा मन्त्री दाहालले सडक बोर्डअन्तर्गत रहेका रुग्ण ठेक्काहरूको शीघ्र व्यवस्थापन गर्न निर्देशन दिँदै सडक मर्मतसँगै अनुगमनलाई समेत प्रभावकारी बनाउन आग्रह गरे ।
बोर्डका अध्यक्षसमेत रहेका मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले आर्थिक वृद्धिको प्रमुख आधार सडकसमेत भएकाले आर्थिक विकास र वृद्धिलाई सहयोग पुग्ने गरी सडक सञ्जाल विस्तार गर्नुपर्ने बताए । बोर्डका कार्यकारी निर्देशक गणेश केसीले बोर्डलाई स्वायत्त बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताए । कार्यक्रममा बोर्डका पूर्वसदस्यहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोर्डको गत आर्थिक वर्षको प्रतिवेदनसमेत सार्वजनिक गरिएको थियो ।