मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष १९ शुक्रबार o८:o३:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक निशा डाँगीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार o८:o३:oo

दलहरू दलीय ट्रेड युनियन आवश्यक नरहेको निष्कर्षमा पुगेका हुन् ?
हो । केही दिनअघि राज्य व्यवस्था समितिका सभापतिज्यूले सबै दलका प्रमुख सचेतक र सचेतकलाई यस विषयमा छलफलका लागि बोलाउनुभएको थियो । एमालेका तर्फबाट मुख्य सचेतक महेश बर्तौलाले दलीय ट्रेड युनियन आवश्यक नभएको भन्दै त्यसलाई हटाउनु ठिक हुने बताउनुभएको थियो । कांग्रेसका तर्फबाट मुख्य सचेतक श्याम घिमिरेले पनि त्यस्तै आशय राख्नुभएको छ । अन्य दलका तर्फबाट पनि त्यस्तै राय आएको थियो । हामीले त यस विषयमा संशोधन नै हालेका छौँ । समितिका सभापतिज्यूले त्यतिखेर यो तपाईंहरूको मात्र हो कि दलकै विचार हो भनेर प्रश्न गर्दा सबैले यो दलकै विचार भएको धारणा राख्नुभएको थियो ।

कर्मचारी नेताहरू त दलीय ट्रेड युनियन राख्नुपर्ने पक्षमा लबिङ गर्दै छन् भन्ने सुनिन्छ नि ?
हामीले पनि त्यस्तो सुनेका छौँ । तर, हामीसँग चाहिँ कसैले एप्रोच गरेको छैन । अन्य दलहरूको चाहिँ कर्मचारीमा आआफ्ना भ्रातृ संगठन नै भएकाले उहाँहरूले लबिङ गर्नुभएको होला । हामीले पार्टी स्थापनादेखि नै यस्ता भ्रातृ संगठन आवश्यक नभएको निष्कर्ष निकालेका छौँ । त्यसैले, यस्तो व्यवस्था हट्नुपर्छ भन्नेमा हामी दृढ छौँ । 

शिक्षक, कर्मचारी, प्राध्यापक आदिलाई प्रत्यक्ष दलीय आबद्धताबाट बाहिर राख्न सकिन्न ?
शिक्षक, कर्मचारी राजनीति गर्न आएका होइनन् । त्यसैले, तिनलाई प्रत्यक्ष दलीय आबद्धताबाट बाहिर राख्नैपर्छ । उनीहरूले दललाई समर्थन गर्न, शुभेच्छा राख्न नपाउने भन्ने हुँदैन, पाउँछन् । तर, ट्रेड युनियनका रूपमा दलको झन्डा बोकेर हिँड्न चाहिँ पाइँदैन । यस्तो व्यवस्थालाई सबै दलले चाहेमा हटाउन नसकिने होइन । यसका लागि मुख्य दलहरूको इच्छाशक्ति आवश्यक पर्छ ।