बिहार र उत्तर प्रदेशबाट विद्युत् आयात गर्न पाइने, अब भारतबाट एक हजार चार मेगावाटसम्म विद्युत् आयात गर्ने
भारतले आफ्नो खुला बजार अर्थात् इनर्जी एक्सचेन्ज मार्केटबाट थप तीन सय ५० मेगावाट विद्युत् खरिद गर्न नेपाललाई सहमति दिएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले बिहार र उत्तर प्रदेशको ग्रिडमार्फत सोबराबरको विद्युत् खरिद गर्न नेपाल विद्युत् प्राधिकरणलाई सोमबार सहमति पठाएको हो ।
प्राधिकरणले बिहार र उत्तर प्रदेशसँग जोडिएका एक सय ३२ केभी क्षमताका नौ अन्तरदेशीय प्रसारणलाइनबाट विद्युत् आयात गर्न सक्नेछ । अहिले कटैयाँमा तीन, रक्सौलमा दुई, रामनगरमा एक, सम्पटियामा दुई र टनकपुरमा एक गरेर नौवटा साना अन्तरदेशीय प्रसारणलाइन छन् ।
यद्यपि, यसअन्तर्गत खरिद गरिने विद्युत्को बिडिङ पनि भारतको इनर्जी एक्सचेन्ज मार्केटमै गर्नुपर्नेछ । यसको म्याद भने आगामी जुन मसान्तसम्म रहेको प्राधिकरणले जानकारी दिएको छ । तर, यसअन्तर्गत पनि साँझको पिक आवरको ६ देखि नौ बजेसम्म विद्युत् आयात गर्न पाइनेछैन । प्राधिकरणले डे–अहेड (भोलिका लागि आज बिडिङ गर्ने) र रियल टाइम (एक घण्टापछिका लागि अहिले बिड गर्ने) मोडेलमा विद्युत् खरिद गर्न स्वीकृत दिएको हो । भारतले यसअघि केन्द्रीय ग्रिडमार्फत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट ६ सय मेगावाट र टनकपुर अन्तरदेशीय प्रसारणलाइनबाट ५४ मेगावाट गरेर ६ सय ५४ मेगावाट विद्युत् खरिद गर्न प्राधिकरणलाई सहमति दिएको थियो । त्यसको म्याद १५ मार्च (२ चैत)सम्म रहेको छ । त्यसमा पनि साँझ ६ देखि नौ बजेसम्म विद्युत् खरिद गर्न पाइन्न ।
अहिले पनि भारतले सोही मोडेलमा थप तीन सय ५० मेगावाट विद्युत् खरिद गर्न सहमति दिएको हो । यसको म्याद भने आगामी जुन मसान्त (१५ असार)सम्म रहेको छ । योसँगै अब भारतबाट एक हजार चार मेगावाटसम्म विद्युत् आयात गर्न अनुमति प्राप्त भएको छ । अहिले दिउँसोको समयमा चार सय मेगावाटसम्म विद्युत् आयात भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विद्युत् माग क्षेत्र (लोड सेन्टर)का आधारमा विद्युत् आयात गर्न सकिने बताए । ‘यसअघि ढल्केबर अन्तरदेशीय प्रसारणलाइनबाट मात्रै विद्युत् आयात गर्न पाइन्थ्यो । टनकपुरबाट आयात हुने ५४ मेगावाट विद्युत् पश्चिम क्षेत्रमै आपूर्ति हुन्थ्यो । तर, आन्तरिक प्रसारणलाइनको क्षमताले नपुग्दा भारतबाट ढल्केबरसम्म ल्याइएको विद्युत् पश्चिमतर्फ प्रसारण गर्न सकिएको थिएन । त्यसले गर्दा वीरगन्जलगायतका क्षेत्रमा विद्युत् आपूर्ति गर्न चुनौती भइरहेको छ,’ उनले भने, ‘अहिले भारतले बिहार र उत्तर प्रदेशको ग्रिडबाट तीन सय ५० मेगावाट विद्युत् खरिद गर्न स्वीकृत दिएको छ । योसँगै अब हामीले भारतका उक्त दुई प्रदेशसँग जोडिएका एक सय ३२ केभीका नौवटा अन्तरदेशीय प्रसारणलाइनबाट पनि विद्युत् आयात गर्न पाउँछौँ । त्यो अवस्थामा जुन क्षेत्रमा विद्युत् चाहिन्छ, त्यही क्षेत्रनजिकको अन्तरदेशीय प्रसारणलाइनबाट विद्युत् आयात गरेर आपूर्ति गर्नेेछौँ ।’
अब दिउँसो पर्याप्त मात्रामा विद्युत् आयात गरेर पिक आवरमा नेपालका अर्धजलाशय आयोजना सञ्चालन गरिने उनले बताए । ‘विद्युत् अभाव हुँदा पिकिङ रन अफ रिभर प्रकृतिका आयोजना पनि दिउँसो चलाउनुपर्ने दबाब आउन सक्थ्यो । त्यो अवस्थामा साँझ पिक आवरमा झन् समस्या आउँथ्यो,’ उनले भने, ‘तर, अब दिउँसो भारतबाट पर्याप्त मात्रामा विद्युत् आयात गर्न पाइन्छ । त्यो अवस्थामा नेपालमा भएको पिकिङ रन अफ रिभर आयोजनालाई दिउँसो बन्द गरेर साँझ चलाउनेछौँ ।’
अहिले भारतबाट विद्युत् आयात गर्न नपाएपछि र चार सय ५६ मेगावाटका परियोजना बाढीले प्रभावित भएपछि साँझ पिक आवरमा विद्युत् माग धान्न पुगेको छैन । फलस्वरूप साँझ पिक आवरमा उद्योगमा विद्युत् कटौतीसमेत गरिएको छ । पिक आवरमा तीन सय ५० मेगावाट हाराहारीमा विद्युत् अपुग हुने गरेको छ ।
कार्यकारी निर्देशक घिसिङले चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी र एक सय ४४ मेगावाटको कालीगण्डकी अर्धजलाशययुक्त परियोजना सञ्चालनमा आएपछि साँझ पिक आवरमा पनि विद्युत् आपूर्ति सहज हुने बताए । ‘माथिल्लो तामाकोशी अहिले नदी प्रवाहमा आधारित भएर सञ्चालनमा आइसकेको छ । तर, पानी जम्मा गरेर पिक समयमा चलाउन भने अझै दुई हप्ता समय लाग्नेछ । यसैगरी एक सय ४४ मेगावाटको कालीगण्डकीको पनि मर्मत सकिएर केही समयमा सञ्चालनमा आउनेछ । पिक आवरमा सञ्चालन गर्न सकिने आयोजना आठ सय मेगावाट हाराहारीमा छन् । माथिल्लो तामाकोशीलगायतका परियोजना पिक आवरमा सञ्चालन गर्दा १७ सय मेगावाट हाराहारीमा उत्पादन हुनेछ,’ उनले भने, ‘त्यो अवस्थामा साँझ उद्योगमा पनि विद्युत् आपूर्ति पनि केही सहज हुनेछ ।’
अहिले नेपालको विद्युत्जडित क्षमता ३,४०३ मेगावाट छ । हिउँदमा प्रसारणलाइनले धान्न सक्ने विद्युत्को माग १,८५० मेगावाट हाराहारी छ । तर, पिक आवरमा विद्युत्को उत्पादन भने १४–१५ सय मेगावाट हाराहारीमा भइरहेको छ । त्यसअनुसार पिक आवरमा तीन सय ५० मेगावाट विद्युत् अपुग हुने गरेको छ । त्यसैले प्राधिकरणले पिक आवरमा उद्योगमा विद्युत् आपूर्ति स्थगित गरेको छ । माथिल्लो तामाकोशीलाई पिक आवरमा सञ्चालनमा ल्याएपछि साँझको समयमा पनि केही सहज हुने प्राधिकरणको विश्वास छ । स्वदेशी उत्पादन र आयात गरेर अहिले दिउँसोको समयमा विद्युत् आपूर्ति गरिएको छ । तर, पिक आवरमा आवश्यकताका आधारमा मात्रै विद्युत् आपूर्ति गरिरहेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । पिक आवरमा विद्युत् कटौती भए पनि यसवेला उद्योगले सहजीकरण गर्नुपर्ने पनि उनको भनाइ छ ।
भारतको एनटिपिसी विद्युत् व्यापार निगमसँग फेबु्रअरीदेखि मे (माघ १९ देखि जेठ १८ गते)सम्म थप दुई सय ३० मेगावाट विद्युत् खरिद गर्ने गरी छुट्टै सम्झौता पनि यसअघि नै गरिएको छ । ‘राउन्ड दी क्लक’ मोडेलको उक्त सम्झौताअन्तर्गत २४ घण्टा नै विद्युत् खरिद गर्न पाइनेछ, त्यसअन्तर्गत विद्युत् खरिद गर्न पनि भारत सरकारले यसअघि नै स्वीकृत दिइसकेको छ । साथै, महाकाली सन्धिअनुसार पनि थप विद्युत् आयात गर्न पुग्छ । त्यो अवस्थामा माघदेखि विद्युत् आपूर्ति थप सहज हुने विश्वास गरिएको छ । गर्मीले हिउँ पग्लिएर खोलामा पानीको बहाव बढ्न गई चैत–वैशाखबाट नेपालकै उत्पादन बढ्छ । त्यसले गर्दा विद्युत्को माग व्यवस्थापन थप सहज हुनेछ । जेठ मध्यतिरबाट विद्युत् निर्यात गर्ने अवस्थामै पुगिनेछ । मनसुन सुरु भएपछि असारपछि विद्युत् उत्पादन झन् बढ्नेछ ।