मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Tuesday, 14 January, 2025
शान्ति तामाङ काठमाडाैं
२o८१ पौष १२ शुक्रबार १o:३३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नगरपालिकाको कामै ठप्प पारेर गोदावरीका मेयरसहितको जम्बो टोली पोखरा र स्याङजा भ्रमणमा

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार १o:३३:oo

तीन महिना (१२, १३ असोज) अघि आएको अविरल वर्षाका कारण उपत्यकाको २१ स्थानीय तहमध्ये सबैभन्दा धेरै क्षति गोदावरी नगरपालिकामा भएको थियो । गोदावरीमा बाढीपहिरोका कारण १९ जनाले ज्यान गुमाएका थिए । यहाँ बाढी र पहिरोपछि राहत, पुनर्स्थापनाको काम अझै प्रभावकारी रूपमा हुन सकेको छैन । चिसोका कारण पीडितहरूको जनजीवन कष्टकर बनिरहेको छ । तर, नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहितको १५ जनाको टोली फोहोरमैला व्यवस्थापन अवलोकन भ्रमणको नाममा स्याङ्जा र पोखरा भ्रमणमा छ । भ्रमण टोलीमा मेयर महर्जन, उपमेयर मुना अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्कासहित १५ जना छन् । 

फोहोरमैला व्यवस्थापनको विषयमा अध्ययन भ्रमण भनिए पनि वातावरण टोली मात्र जाँदा हुने ठाउँमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षसहितको टोलीको भ्रमण अध्ययन भ्रमण मात्र नभएर घुम्नकै लागि भएको नरपालिका स्रोत बताउँछ । मेयर महर्जनले वडा ५ अध्यक्ष तथा प्रवक्ता मिलन सिलवाललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर तीनदिने भ्रमणका लागि पोखरा, स्याङ्जा गएका हुन् ।

मेयरसहितको भ्रमण टोलीका लागि तीन लाख पेस्कीसमेत निकासा भएको नगरपालिका स्रोतको भनाइ छ । बाढी र पहिरोपछि सरकारले अति प्रभावित नौ स्थानीय तहमध्ये गोदावरी नगरपालिलाई पनि समेटेको थियो । अति प्रभावित स्थानीय तहलाई सरकारले एक–एक करोड रुपैयाँ प्रदान गरेको थियो । तीन दिनको भ्रमण सकेर टोली शुक्रबार काठमाडौं फर्कंदै छ ।

गजेन्द्र महर्जन, मेयर गोदावरी नगरपालिका

स्याङ्जाको वालिङ नगरपालिकाले गरिरहेको फोहोर व्यवस्थापनबारे अध्ययन गर्न यहाँ आएका हौँ । पछिल्लो समय गोदावरी नगरपालिकामा पनि फोहोर व्यवस्थापन समस्याका रूपमा बढ्न थालेको छ ।

फोहोरबाट कसरी आम्दानी गर्ने र उचित व्यवस्थापन गर्ने भन्नेबारे अध्ययन गर्न यहाँ आएका हौँ । वालिङ नगरपालिका अहिले फोहोर व्यवस्थापनका लागि सिकाइ केन्द्रजस्तै बनेको छ । गोदावरी नगरपालिकाले यस वर्ष दिसाजन्य लेदो व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ ।

त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने अध्ययन गर्न वालिङको अभ्यास हेर्न आएका हौँ । वालिङले अन्य प्रकृतिका फोहोरको व्यवस्थापन पनि उत्कृष्ट तरिकाले गरेको छ, फोहोर व्यवस्थापनको सिकाइका लागि भ्रमण फलदायी र उपलब्धिमूलक हुनेछ । 

‘भ्रमणले विपत्पछिको काम प्रभावित भएको छैन’
नगरपालिकाबाट मेयरसहितको भ्रमण टोली पोखरा, स्याङ्जा गए पनि बाढीपहिरो पीडितको व्यवस्थापना समस्या नभएको कार्यबाहक प्रमुख सिलवालले बताए । ‘मेयरसहित नवनिर्वाचित वडा अध्यक्षलगायतको टोली फोहोरमैला व्यवस्थापनको विषयमा अध्ययन अवलोकन भ्रमणमा गएको हो । कामलाई अस्तव्यस्त पारेर गएको होइन । आफ्नो ढंगले काम अगाडि बढेको छ । मेयरसापको टोली त्यहाँ भ्रमणमा जानुले यहाँको कामलाई प्रभावित पार्छ भन्ने छैन,’ कार्यवाहक प्रमुख सिलवालले भने ।