मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १ मंगलबार
  • Tuesday, 14 January, 2025
२o८१ माघ १ मंगलबार १६:१३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक मुक्त हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १ मंगलबार १६:१३:oo

कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले मंगलबार बताएका छन् ।

मध्यस्थकर्ताहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले हालैका दिनहरूमा सम्झौता गर्ने प्रयासहरू तीव्र पारेका छन् र वार्ताबारे जानकार एक स्रोतले मंगलबार एएफपीलाई दोहामा ‘अन्तिम चरणको वार्ता’ सुरु हुने बताएको थियो । वार्तासँग सम्बन्धित दुई स्रोतले नाम नखुलाउने सर्तमा एएफपीलाई प्रारम्भिक आदान–प्रदानमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ बन्धक रिहा गरिने बताए ।

यी बन्धकहरू सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि गाजापट्टीमा बन्दी बनाइएका ९४ जनामध्येका हुन् । यो संख्यामा इजरायली सेनाले मृत भनेका ३४ जना बन्दी समावेश छन् । 

टाइम्स अफ इजरायल समाचार वेबसाइटले वार्तासँग परिचित इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै ‘सम्झौताको पहिलो चरणमा ३३ वटा मानवीय मामिला समावेश छन्’ भनी रिपोर्ट गरेको छ । 

वार्तासँग सम्बन्धित दुई स्रोतमध्ये एकका अनुसार सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धकलाई समूहमा रिहा गर्ने व्यवस्था छ, जसमा पहिले बालबालिका र महिलाहरूलाई रिहा गरिनेछ ।

टाइम्स अफ इजरायलको रिपोर्टअनुसार इजरायली अधिकारीहरूले प्रस्तावित प्रारम्भिक आदान–प्रदानमा समावेश ३३ जना बन्धक जीवित रहेको विश्वास गरेका छन् । यद्यपि, इजरायल उनीहरूको स्थितिको पुष्टिको प्रतीक्षामा रहेको रिपोर्टमा उल्लेख छ । 

‘यदि पहिलो चरण सम्पन्न भयो भने सम्झौता लागु भएको १६औँ दिनमा इजरायलले बाँकी बन्दीहरूलाई मुक्त गर्न दोस्रो चरणमा वार्ता सुरु गर्नेछ,’ रिपोर्टमा भनिएको छ, ‘यसमा पुरुष सैनिकहरू, सैन्य उमेरका पुरुषहरू र मारिएका बन्धकहरूको शवहरू समावेश छन् ।’ 

गत हप्ता हमासले बहुचरण सम्झौताको पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको संकेत गरेको थियो । इजरायली मिडियाले मंगलबार प्रस्तावित सम्झौताअन्तर्गत पहिलो चरणको कार्यान्वयनका क्रममा इजरायललाई गाजाभित्र बफर जोन कायम राख्न अनुमति दिइने पनि बताएको छ । 

‘इजरायली सेना सबै बन्धक फिर्ता नगरेसम्म गाजाबाट फिर्ता हुने अपेक्षा गरिएको छैन, तर यसले दक्षिणी गाजाबाट बासिन्दाहरूलाई पट्टीको उत्तरतिर जान अनुमति दिनेछ,’ वामपन्थी झुकाव भएको अखबार हारेट्जले भनेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युद्धविराम र बन्धक मुक्तिको सम्झौता लगभग अन्तिम भएको र यो मे महिनाको अन्त्यमा सार्वजनिक गरेको तीन चरणको युद्धविराम योजनामा आधारित रहेको बताए। 

‘इजरायल र हमासबिचको युद्धमा हामी एउटा प्रस्ताव अन्ततः साकार हुने अवस्थामा पुगेका छौँ,’ बाइडेनले विदेश मन्त्रालयमा बिदाइ भाषणमा भने । वार्ताका मुख्य अड्चनका विषयहरू कुनै पनि युद्धविरामको स्थायित्व र प्यालेस्टिनी क्षेत्रका लागि मानवीय सहायताको मापनमा असहमति रहेको छ। अन्य विवादका विषयहरूमा विस्थापित गाजावासीहरूको घर फिर्ती, प्यालेस्टिनी क्षेत्रबाट इजरायली सेनाको फिर्ती र सीमानाकाहरू पुनः खुला गर्ने विषय समावेश छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीलाई दृढतापूर्वक अस्वीकार गरेका छन्  र त्यस क्षेत्रमा प्यालेस्टिनी शासनको विरोध गरेको पाइएको छ । वार्तासँग परिचित एक स्रोतका अनुसार कतारमा भइरहेका वार्ताहरू हमास र इजरायली वार्ताकारहरू दुई अलग–अलग कोठामा उपस्थित भएर सञ्चालन भइरहेका छन् ।