मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Friday, 27 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ११ बिहीबार १८:o३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालकोट हत्या प्रकरणः आरोपी मिलनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार १८:o३:oo

भक्तपुरको बालकोटमा आइतबार बिहान बुबा र भाइको हत्या आरोपमा पक्राउ परेका मिलन आचार्यसँग प्रहरीले बयान लिन सुरु गरेको छ। लिखित बयानमा पनि उनले अभियोग स्वीकार गरेको प्रहरी स्रोत बताउँछ। 

मंगलबार पक्राउ परेका आचार्यलाई जिल्ला अदालतल भक्तपुरले बिहीबार पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज नेउपानेका अनुसार अदालतबाट म्याद लिएसँगै उनको बयान सुरु भएको छ। 

लोक सेवाको परीक्षामा बारम्बार फेल भएको र प्रगति गर्न नसकेको भनेर बुबाले भनेको कुराले विक्षिप्त भएर आफूले त्यसरी हत्या गरेको उनले प्रहरीसँग बताएका छन्। 

शनिबार बेलुका सँगै खाना खाएर उनीहरू सुतेका थिए। बुबा र मिलन एउटै कोठामा सुतेकोमा त्यो दिन पनि बुबाले लोक सेवामा नाम निकाल्न नसकेको भनेर गुनासो गरेपछि रातभरि निधाउन नसकेको र बिहान सबैलाई मारेर मर्ने योजना बनाएको उनले बताएका छन्। 

प्रहरीका अनुसार सुरुमा उनले बुबाको हत्या गरेका थिए। डम्बबेलले टाउकोमा प्रहार गरी निदाएको अवस्थामा बुबाको हत्या गरेका हुन्। त्यसपछि किचनमा गएर पानी पिएको र त्यहाँ सुतिरहेका भाइलाई सिलौटोले हानेर हत्या गरेको उनको बयान छ।  

हत्यापछि रगत लागेको लुगा झोलामा राखेर कोठामा बाहिरबाट ताला लगाई उनी निस्किए। त्यहाँबाट भक्तपुरको बिरुवास्थित जंगलमा गएर गलबन्दीले पासो लगाएर आत्महत्या प्रयास गरेको, तर गलबन्दी खुस्किएपछि आफूलाई मर्नुहुन्न भनेर लागेर त्यहाँ चाबहिल पुगेको उनको बयान छ।  

आइतबार बेलुका र सोमबार बेलुका उनी चाबहिलको एक गेस्ट हाउसमा बसेका थिए। आइतबारदेखि नै मोबाइल स्विच अफ गरेका थिए। मंगलबार बिहान पत्रिकामा बुबा र भाइको हत्याबारे समाचार पढेपछि उनी प्रहरी वृत्त महाराजगन्जमा पुगेका थिए। 

आफूबाट परिवार र आफन्तले धेरै अपेक्षा गरेको, तर त्यसअनुसार प्रगति गर्न नसक्दा तनावमा आएर यस्तो निर्णय गरेको उनले प्रहरीमा बताएका छन्। उनले नायब सुब्बा पदमा ६ पटक र अधिकृत पदमा एकपटक लोक सेवाको परीक्षा दिएका थिए। तर, असफल भएपछि सधैँ बुबाले गुनासो गरेकोले आफू थप तनावमा परेको उनको भनाइ छ। उनको साथबाट प्रहरीले कोठाको चाबी, रगत लागेको लुगा पनि बरामद गरेको छ।  

उनका बुबा कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख थिए। उनी केही दिनअघि मात्र खोटाङबाट केही दिनका लागि भक्तपुर आएर छोराको डेरामा बसेका थिए। उनका भाइ प्रवीण भिएस निकेतन कलेजमा स्नातक तहमा अध्ययनरत थिए। 

स्नातकसम्मको पढाइ पूरा गरेका मिलन लोक सेवाको परीक्षाका लागि अध्ययनरत थिए।