चिनियाँ वायुसेवा सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंमा प्रवर्द्धनात्मक उडान गरेको छ । बिहीबार सिचुवानको एयरबस–३१९ विमानले एक सय २६ यात्रु बोकेर पोखरा–काठमाडौं उडान गरेको हो ।
यो जहाज बिहान चीनको छेङ्दुबाट चार्टर उडान गरी खेलाडीसहित एक सय २९ यात्रु बोकेर पोखरा उत्रिएको थियो । पोखरा विमानस्थलमा अवतरण गर्दा र पोखराबाट काठमाडौं उडान गर्दा जहाजमा भरिभराउ यात्रु थिए । यसले पोखरामा अन्तर्राष्ट्रिय उडान भर्न लोडको कुनै समस्या नरहेको पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले बताए । ‘पोखरामा धेरै लोड बोकेर जहाज उडान अवतरण गर्न सक्दैनन् भन्ने भाष्य सिर्जना गरिएको थियो, त्यो भ्रम फैलाउने व्यवसाय बन्द भएको छ, अब नियमित जहाज उडाएर व्यवसाय गर्नुपर्छ ।’
क्यानका महानिर्देशक प्रदीप अधिकारीले भन्छन्–
सिचुवानको विमान भरिभराउ यात्रु बोकेर उडान र अवतरण गरेको छ, जसले पोखरामा न्यारोबडीबाट व्यावसायिक उडान सम्भव भएको पुष्टि भयो ।
क्यानका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले पनि सिचुवानको बिहीबारको उडानले लोड पेनाल्टीको भ्रम तोडिएको बताए । ‘सिचुवानको जहाज भरिभराउ यात्रु बोकेर सहजै उडान–अवतरण गरेको छ,’ उनले भने, ‘यो आकारको जहाजलाई पोखरामा व्यावसायिक उडान गर्न टेक्निकल समस्या छैन ।’
जहाजमा पोखराबाट भिआइपी पाहुना, क्यानका उच्च अधिकारी, पर्यटन व्यवसायी, पत्रकारलगायत बोकेर करिब २८ मिनेटमा काठमाडौं आएको थियो । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले बिहीबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी पोखरामा व्यावसायिक उडानको पहल गरे ।
त्यसअघि नाट्टा गण्डकी प्रदेशले क्यानका पदाधिकारीसँग गरेको छलफलमा महानिर्देशक अधिकारीले विमानस्थल कसरी सञ्चालन गर्न सकिन्छ, त्यसतर्फ लाग्न आग्रह गरेका थिए । उनले काठमाडौंको विमानस्थलमा क्राउड बढेकाले त्यसलाई कम गर्न पोखरा र भैरहवामा उडान गर्न आफूहरू लागिपरेको बताए । ‘त्रिभुवन विमानस्थलको क्षमता वार्षिक ५० लाख यात्रु ह्यान्डल हो, तर अहिले वार्षिक एक करोडलाई सेवा दिनुपरेको छ,’ उनले भने, ‘केही उडानहरू पोखरा र भैरहवामा सिफ्ट गर्न सके तीनै ठाउँको समस्या समाधान हुने थियो ।’ यसका लागि पोखराका व्यवसायीहरूले समेत यात्री खोज्ने र प्रदेश सरकारले पनि पहल गर्नुपर्ने उनको भनाइ थियो ।
नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले पर्यटनको राजधानी पोखरामा ४० हजार बेड क्षमता, रोजारोजा पर्यटकीय गन्तव्य, पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग, मध्यपहाडी राजमार्गको संगम विन्दु, मुक्तिनाथ तथा कोरोला नाकाको प्रवेशद्वार, अन्नपूर्ण सक्रिटको प्रवेशद्वार, भविष्यमा कैलाश मानसरोवर यात्राको सम्भावना रहेको ठाउँमा किन अन्तर्राष्ट्रिय उडान हुन नसकेको हो भन्दै प्रश्न गरे । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘पोखरा विमानस्थल निर्माणका लागि आन्दोलन र अनशन पनि बस्यौँ, अहिले सञ्चालनमा आएकै दुई वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानको कुनै अत्तोपत्तो छैन ।’