मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Saturday, 28 December, 2024
२o८१ पौष १२ शुक्रबार २२:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

रवि लामिछानेको बयान सकियो, आगामी साता थुनछेक आदेश हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार २२:४३:oo

सहकारी ठगीको मुद्दामा दुई महिनाभन्दा लामो समयदेखि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शुक्रबार बयान सकिएको छ । बिहीबारदेखि नै उनको बयान भएको थियो । 

सो मुद्दामा अझै केही बयान बाँकी छ । बाँकी बयान र थुनछेक बहस आगामी साता हुने अदालतले जनाएको छ । 

बयानको क्रममा लामिछानेले नियम र कानुनको अधीनमा रहेर गरेको आम्दानीबाहेक आफूले गैरकानुनी आर्जन नगरेको बयान दिएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले सम्पत्ति शुद्धीकरण अभियोगमाथि केन्द्रित रहेर शुक्रबार लिएको बयानमा लामिछानेले आफूलाई सम्पत्ति शुद्धीकरण अभियोग लगाउन आवश्यक नरहेको दाबी गरे । 

‘म राम्रो पारिश्रमिकमा ग्यालेक्सी टिभीमा गएको थिएँ, कर तिरेर कानुनबमोजिम पारिश्रमिक मेरो खातामा आएको हो, अन्य पैसा आएको छैन । मलाई सम्पत्ति शुद्धीकरण अभियोग लगाउन आवश्यक छैन,’ उनले बयानमा भने । ७ पुसमा दायर मुद्दामा लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख बिगो माग गरिएको छ । 

लामिछानेले आफ्नोे खातामा आउने–जाने गरेको बैंक ट्रान्जेक्सन देखाएर २७ करोड ८९ लाखको सम्पत्ति शुद्धीकरण चलाइएको बताए । ‘आफ्नै एउटा खाताबाट अर्काे खातामा सारेको, वालेटबाट खाता र खाताबाट वालेटमा गएको पैसा पनि जोडेर हिसाब निकालिएको छ,’ सम्पत्तिको स्रोतको विवरण न्यायाधीशलाई देखाउँदै लामिछानेले भने, ‘घरपरिवारको खातामा पठाएको, फेरि परिवारको खाताबाट मेरोमा आएको पैसा पनि जोडिएको छ ।’

लामिछानेले ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राईको निर्देशनमा प्रबन्ध निर्देशकको हैसियतमा चेक काटेको बताए । ‘गोर्खा मिडियामा आर्थिक कारोबार गर्ने अधिकार सबै अध्यक्ष जिबी राईको थियो । उनकै निर्देशनमा कारोबार भएको हो । म प्रबन्ध निर्देशक थिएँ, लगानीको सबै जिम्मेवारी जिबीको हो, मलाई जानकारी भएन,’ लामिछानेले भने, ‘जसको लगानी थियो, उसैको आदेशको पालना गरेर चेक काटेको हुँ । जिबी बाहिर भएका वेला कतिपय चेक मेरो नामबाट काटिएका छन्, ती चेक काटेको होइन कि मालिकको आदेश पालना गरेको हो ।’ 

अब थुनछेक बहसपछि अदालतले उनलाई साधरण तारेख वा धरौटीमा छाड्ने तथा थुनामा पठाउने आदेश दिनेछ।