मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १३ शनिबार
  • Sunday, 29 December, 2024
२o८१ पौष १३ शनिबार १४:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारीचालक नै लागुऔषधको नसामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १३ शनिबार १४:२६:oo

सार्वजनिक यातायातका चालकले लागूऔषधको नसामा सवारी चलाउने गरेको पाइएको छ। जसले सार्वजनिक यातायातको यात्रा कति सुरक्षित छ भन्ने प्रश्न उब्जाएको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकले संयुक्त रूपमा शुक्रबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिकामा गरेको लागूपदार्थ जाँचमा सार्वजनिक यातायातका चालकहरुले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको फेला परेको हो।

शुक्रबार एकैदिन १४ जनाले लागूपदार्थ सेवन गरेको फेला परेको प्रहरीले जनाएको छ। २८ जना चालक र सहचालकमा लागूपदार्थ सेवन भए/नभएको जाँच गर्दा १४ जनाले लागूऔषध प्रयोग गरेर यातायात सञ्चालन गरेको फेला परेको हो। १४ मध्ये सातजना चालक र सातजना सहचालक रहेका इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए। जसमा एकजना मोटरसाइकल चालक पनि रहेका उनले बताए।

प्रहरीले शंकास्पद चालक र सहचालक गरी २८ जनामा लागूपदार्थ सेवन (लापसे) जाँच गरेको थियो। जाँच गरिएका मध्ये ५० प्रतिशतले लागूऔषध प्रयोग गरेर सवारी सञ्चालन गरेको फेला परेको हो। ‘लागूऔषध दुव्र्यसनी नियन्त्रण र सडक यात्रालाई सुरक्षित गर्न हामीले लापसे जाँच अभियान चलाएका हौँ,’ इलाका प्रहरी कार्यालय दमकका प्रमुख थापाले भने, ‘यो अभियान हामी निरन्तर सञ्चालन गर्ने छौँ।’

शुक्रबार नेपाल प्रहरी र ट्राफिक प्रहरीले कमल गाउँपालिकाको सहकार्य तथा लाइन्स÷लियो स्वीटसिटी र लाइन्स÷लियो स्वीटसिटी दमक स्ट्रनलाइनको सहयोगमा लापसे जाँच गरेका थिए। लागूऔषध प्रयोग गरेको भेटिएका १४ जनालाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। ‘नियन्त्रणमा लिएर राखिएका चालक र सहचालकलाई के कारबाही गर्न सकिन्छ भन्ने विषयमा हामी कानुनी परामर्शमा छौँ,’ उनले भने। प्रहरीले स्वास्थ्यकर्मीको सहयोगमा लापसेसँगै चालकको सामान्य स्वास्थ्य जाँचसमेत गरेको थियो।  विगतमा मादकपदार्थ सेवन (मापसे) मात्र जाँच गर्दै आएको प्रहरी र ट्राफिक प्रहरीले पछिल्लो समय लापसे पनि जाँच गर्न थालेको छ। मापसेजस्तै लापसे गरेर सवारी चलाएको गुनासोपछि प्रहरीले यो अभियान सञ्चालन गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले दुर्घटनाका धेरै कारणमध्ये चालकले लागूऔषध सेवन गर्नु पनि रहेको बताए। दुर्घटना न्युनीकरणका लागि जिल्ला प्रहरी कार्यालय झापासँगको सहकार्यमा जिल्लाभर लापसे जाँच अभियान चलाउने उनले बताए। ‘लापसे जाँचले अब जिल्लाभर यो अभियान सञ्चालन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगिएको छ,’ उनले भने, ‘जिल्लाका विभिन्न ठाउँमा हामी लापसे जाँच गर्छौँ। सडक दुर्घटना न्युनीकरणमा हामी गम्भीर भएर लागेका छौँ।’