
बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको छ । बिमा ऐनअनुसार बिमा प्राधिकरणको अध्यक्ष पद रिक्त हुनु एक महिनाअगावै नयाँ नियुक्ति गर्नुपर्ने प्रावधान छ । सोही कारण ९ पुसको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो ।
प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयका सचिव र बिमा क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सदस्य रहेको एक समिति रहने ऐनमा व्यवस्था छ ।
समितिले तीनजनाको व्यक्तिको नाम सिफारिस गर्नेछ । आयोगमा सम्बन्धित क्षेत्र उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी आफैँले जिम्मा लिएका छन् । सिफारिस समितिको संयोजक हुनेछ । मन्त्रिपरिषद्को निर्णयअनुसार विज्ञ सदस्यका रूपमा ज्योतिचन्द्र ओझा रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग दर्ता गरेसँगै सूर्यप्रसाद सिलवाल निलम्बित भएपछि प्राधिकरणको अध्यक्ष खाली भएको छ । उनको कार्यकाल १९ माघमा सकिँदै छ । ऐनअनुसार १९ पुसभित्रै अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्नुपर्छ ।