मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १९ बुधबार
  • Tuesday, 14 January, 2025
गणेश लम्साल विराटनगर
२o८१ मङ्सिर १९ बुधबार o८:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विराटनगरमा कांग्रेस इतर पक्षको प्रदेशस्तरीय भेला, १५औँ महाधिवेशनको तयारीमा शेखर

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ मङ्सिर १९ बुधबार o८:१o:oo

पार्टी केन्द्रको निर्देशन अवज्ञा गर्दै कांग्रेस इतर पक्षले मंगलबार विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ । कोशी प्रदेशस्तरीय पालिका र जिल्ला सभापतिहरूको भेलामा बोल्ने नेता र कार्यकताले १५औँ महाधिवेशनमा जसरी पनि डा. शेखर कोइरालालाई सभापति बनाएरै छाड्ने संकल्प गरेका छन् । नेतृत्वका कारण कांग्रेस संकटमा परेर कमजोर बनेको र पार्टी विधानअनुसार सञ्चालन नभएकाले आगामी महाधिवेशले नेतृत्व परिवर्तन खोजेको त्यो नेतृत्व कोइराला मात्र भएको भेलामा सहभागीहरूको भनाइ थियो ।

विराटनगरको जैन भवनमा आयोजित उद्घाटन सत्रमा भेला भएका नेता–कार्यकर्ताले आफूहरूले कुनै गुटको नभएर कांग्रेसलाई विधानअनुसार बलियो बनाएर लोकतन्त्रको रक्षा गर्न कोशी प्रदेशस्तरीय पालिका र सभापतिहरूको प्रशिक्षण भेला आयोजना गरेको दाबी गरे । 

कांग्रेस नेता डा. शेखर कोइरालाले १५औँ महाधिवेशनपछि गुट–उपगुट अन्त्य हुने बताए । उनले आगामी महाधिवेशनमा आफू नै पाटी सभापतिको उम्मेदवार हुने संकेत गर्दै कांग्रेसभित्रको गुटउपगुट अन्त्य गर्ने दाबी गरे । कोइरालाले आफू सभापति भएपछि कसैलाई पनि काखा र पाखा नगर्ने भन्दै सबैलाई समान रूपले संरक्षण गर्ने प्रतिबद्धता गरे । 

समयमै महाधिवेशन नभएमा पार्टी कमजोर हुने भन्दै अबको एक वर्षपछि महाधिवेशन सम्पन्न गराउन गाउँगाउँबाट दबाब सिर्जना गर्न आफ्ना समर्थकलाई निर्देशन दिए । पार्टीभित्र निषेधको राजनीति नगर्न संस्थापन पक्षलाई चेतावनी दिँदै उनले बहुमतको आडमा अल्पमतमा परेकालाई दबाउने र सिध्याउने खेल जारी राखेको भन्दै तिक्तता नबढाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरे । 

कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले पार्टीले परिवर्तन खोजिरहेको र त्यो परिवर्तन पूरा गर्ने अभिभारा अब गाउँदेखि नगर, जिल्लादेखि केन्द्रसम्मका नेता–कार्यकर्ताको अभिभारा बनेको बताए । उनले १५औँ महाधिवेशनमा कोइराला नै सभापतिको वास्तविक दाबेदार भएको र अर्को विकल्प नभएको बताए । 

युवा नेता गुरुराज घिमिरेले भेला कांग्रेसको विधानअनुसार वैधानिक भएको, तर कर्मचारीले भेला रोक्ने परिपत्र गरेर पत्रआतंक सिर्जना गरेको आरोप लगाए । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले निरंकुश बनेर भावी सभापति डा. शेखर कोइरालालाई नतर्साउन संस्थापन पक्षलाई चेतावनी दिए । 

काठमाडौं कांग्रेसका सभापति नीलकाजी शाक्यले डा. शेखर कोइराला पार्टीको मात्र नभए राष्ट्रकै नेतृत्व गर्न सक्ने व्यक्ति भन्दै आगामी महाधिवेशनमा सर्वसम्मत सभापतिमा निर्वाचित गराउनुपर्नेमा जोड दिए । इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले पालिकादेखि नै कांग्रेस बलियो भए मात्र देश हाँक्न सक्ने सक्षम पार्टी बन्ने र अरूसँग टाँसिरहनु नपर्ने भन्दै आगामी महाधिवेशनमा डा. कोइराला एक मात्र सक्षम सभापतिको उम्मेदवार भएको दाबी गरे । सुनसरी कांग्रेस सभापति केदार भण्डारीले राम्रो काम गर्न विधानले कतै पनि र कहिल्यै पनि नछेक्ने भन्दै विराटनगरमा भएको कोशीस्तरीय पालिका भेलाजस्तै देशैभरि लानुपर्नेमा जोड दिए । भेलालाई कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं, डा. चन्द्रमोहन यादव, तरुण दलका केन्द्रीय सदस्य दिनेश राईलगायतले सम्बोधन गरेका थिए।