प्रधानमन्त्री केपी ओलीले स्वस्थ रहनका लागि योग असाधारण उपयोगी रहेको बताएका छन्। दसाैँ राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले योगको महत्त्व अझै प्रखर भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ–
स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज हामी दसाैँ राष्ट्रिय योग दिवस, २०८१ मनाइरहेका छौँ । यस दिवसका अवसरमा म सबैमा हार्दिक बधाई तथा शुुभकामना व्यक्त गर्दछुु ।
योग यस भूमिको उपज हो । हाम्रा पूर्वजहरू, जसले गणितको, आयुर्वेदको, अन्तरिक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो यो । आज योगको महत्त्व अझ बढी प्रखर रूपमा प्रकट भएको छ । मानिसको सबैभन्दा महत्त्वपूर्ण कुरा हो स्वस्थ रहनु । शारीरिक र मानसिक रूपले स्वस्थ रहनु । स्वस्थ रहनका लागि योग असाधारण उपयोगी छ । साधना र लामा ध्यानहरू चिन्तकहरूका लागि आवश्यक हुन सक्छ ।
हामी विश्वलाई मानवोचित विश्व बनाउन चाहिरहेका छौँ । विश्व भनेको धर्ती र मानव समाज हो । प्रकृति र मानव समाज । यसको सन्तुलन पनि कायम गर्न चाहिरहेका छौँ । योग मूलतः यिनै कुराहरूसँग केन्द्रित छ । हामी यस ठाउँलाई आदियोग भूमि भन्न सक्दछौँ । आदियोग गुरु, आदियोगी शिव अर्थात् शम्भुनाथले यसै भूमिबाट हजारौँ वर्षअघि योगको अभ्यास, योगको चिन्तन र योग दर्शन अर्थात् जीवनसँग सम्बन्धित सम्पूर्ण विषयहरू र जीवन र प्रकृतिको सम्बन्धको चिन्तन, ध्यानादि कुराको प्रारम्भ गर्नुभएको थियो । त्यसकारण हामी शिवलाई आदियोगी मान्दछौँ ।
योग आदियोगी शिवबाट सुरु भएको हो । योग कुनै धर्म, जाति वा भूगोलविशेषसँग, कुनै राजनीतिक विचारधारामा सीमित छैन । यो सम्पूर्ण मावन जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको एउटा यस्तो विधा हो जुन अत्यन्तै वैज्ञानिक ढंगले शुरू भएको थियो । बिचको समयमा योग अलिक ओझेल पर्दै गयो । बिचमा विभिन्न प्रकारका भ्रम, भ्रान्तिहरू पनि यसमा मिसिए । अहिले योग भ्रान्तिहरूबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्ण रूपमा समर्पित र व्यापक, विस्तृत हुन जरुरी छ । मानव समाजव्यापी हुन जरुरी छ । यस प्रयासमा हामी जुटेका छौँ ।
हामीले एउटा कुरामा स्पष्ट हुनुपर्दछ, योग कुनै धर्मविशेषसँग सम्बन्धित छैन । योग अध्यात्मासँग सम्बन्धित छैन । दर्शनहरूको सृष्टिभन्दा अगाडि शैव दर्शनसँग सम्बन्धित छ, दर्शनकै प्रारम्भ यहीँबाट भयो । योगबाट दर्शनको प्रारम्भ भयो । योगबाट ध्यान, ध्यानबाट चिन्तन, चिन्तनबाट मनन, मननबाट ज्ञान विकास भयो ।
संयुक्त राष्ट्र संघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यो । जसको इतिहासले हाम्रो भूमिसँग १५ हजार वर्षअगाडिको नाता राख्दछ । यसको सम्बन्ध कपिलवस्तुका कपिलमुनिसँग जोडिएको छ । त्यसपछि कपिलवस्तुकै सिद्धार्थ गौतम, गौतम बुद्धसँग नाता जोडिएको छ । त्यसपछि अर्घाखाँचीका महर्षि पतञ्जलीसँग नाता जोडिएको छ । र, त्यस परम्परालाई आत्मसात् गर्दै संयुक्त राष्ट्र संघले पनि योग अभ्यासको विस्तारको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यता दिएको छ । यो हाम्रो भूूभागबाट सुुरु भएको थियो ।
हामीले शांख्य दर्शन र शांख्य दर्शनमा आधारित योगलाई फेरि विकास र पुनरुत्थान गर्ने काम गर्नुपर्दछ । जो पहिले कपिलमुनिले गर्नुभएको थियो । कपिलमुनि पनि कपिलवस्तुकै हुनुहुन्थ्यो । पछि आएर महर्षि पतञ्जलीले सम्पूर्ण योगलाई आठ भागमा बाँड्नुभयो । त्यसपछि हामीले अष्टांगयोग भनेर अध्ययन गरेका छौँ । अष्टांगयोग भनेको योगका आठ अंगहरूको अध्ययनका पाटा हुन् । योगका आठवटा संघटक अंगहरू यम, नियम, आशन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधी हुन् । आठ भागमा विभाजित योगका हरेक अंग, हरेकका विशाल शाखाहरू छन् । यमका आफ्ना शाखाहरू छन्, नियमका आफ्ना शाखाहरू छन्, फेरि तिनका अरू भाग र सेक्सनहरू छन् । योगका यी विभिन्न सेक्सनहरू हुन् । र, ती सेक्सनहरूलाई हामी एउटा आसनको सेक्सनमा, एउटा प्रणायामको सेक्सनमा र अर्को ध्यानको सेक्सनमा लान सक्छौँ । संक्षिप्तमा हामीले बुझ्दाखेरि आसन, शरीरलाई चुस्त–दुरुस्त राख्न र शरीरको प्रतिरोधी क्षमता सहनशक्ति, वहनशक्ति आदिको विकास गर्न र शरीरलाई जम्न नदिन गति नै जीवन हो ।
अब समय परिवर्तन भएको छ । फेरि एसियाको समय फर्किएको छ, फेरि यस हिमवतखण्डको समय फर्किएको छ । फेरि यस नेपाल देशको समय फर्किएको छ, जो ज्ञानभूमि हो, ध्यानभूमि हो, तपोभूमि हो र देवभूमि हो । यसलाई हामी विकास गर्न सक्दछौँ । हाम्रा सनातन चिन्तन, ज्ञान, ध्यान र तिनका स्रोतहरूको हामीले आज पुनर्स्थापना, पुनरुत्थान गर्नुपर्दछ । मैले थुप्रै ठाउँमा भनेको छु, नासाका कुरा गर्छन्, पुनर्जागरणका कुरा गर्दछन्, जहाँ पहिलोपल्ट जागरण भएको छ । पुनर्जागरण हामीकहाँ आवश्यक छ, जहाँ १५ हजार वर्ष अघिदेखि शैव दर्शनको प्रारम्भ भएको थियो । जहाँ सप्तऋषिहरुले योगशिक्षालाई नवीकरण गरेका थिए । अर्थात्, यो भूमि त्यस्तो भूमि हो, जसलाई हामीले चिन्नुपर्दछ र यस भूमिप्रति गर्व गर्नुपर्दछ । यस भूमिको प्रकृतिप्रति गर्व गर्नुपर्दछ । जहाँ ज्ञानको उत्पत्ति हुन्छ, अनेक चिजको आविष्कार हुन्छ, त्यो अत्यन्तै महत्त्वपूर्ण भूमि हो । अब अहिले त दुनियाँले नपत्याउने भइसक्यो, नेपालले पनि ज्ञानका कुरा गर्ने, नेपालले पनि ज्ञानको उत्पत्तिका कुरा गर्ने भनेर । तर, हामीले गर्व गर्नुपर्दछ । हामीसँग ती पुर्खाहरूको, ती ऋषिहरूको, ती महर्षिहरूको आनुवंशिक गुण छ ।
हामीले ती पूर्वजहरूप्रति शिर झुकाएर श्रद्धापूर्वक नमन गर्नुपर्दछ । उहाँहरूको आदर्शबाट सिक्ने र उहाँहरूको जस्तो ज्ञान पैदा गर्ने खोज, अध्ययन, अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्दछ । जीवनमा त्यसलाई आत्मसात् गर्ने प्रयास गर्नुपर्दछ । आजको योग दिवसले हामीलाई यी कुराहरूको प्रेरणा देओस् । यस योग दिवसले देशभक्ति, पूर्वजहरूप्रति, हाम्रो प्रकृतिप्रति, हाम्रो यो भूखण्ड, हाम्रो यो देशप्रति हामीलाई गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न प्रेरित गरोस् । म सबैमा यही शुभकामना व्यक्त गर्न चाहन्छु ।