अतिवादी समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले मंगलवार साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग फोनवार्ता गरेकी छिन् । हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री राणाले विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री सारमार्फत् इजरायल सरकारसँग आग्रह गरेकी हुन् । परराष्ट्रमन्त्री राणाले मंगलवारै कतारका विदेश राज्यमन्त्रीसँग पनि फोनवार्ता गरेकी थिइन् ।
फोनवार्तामा परराष्ट्रमन्त्री राणाले इजरायल सरकारले विपिनसहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न विशेष आग्रह गरेको उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।
इजायली परराष्ट्रमन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी दिएका थिए । विदेशमन्त्री सारले मंगलवार बिहान परराष्ट्रमन्त्री राणाले कतारका विदेश राज्यमन्त्रीसँग कुराकानी गरेकोमा पनि खुसी पनि व्यक्त गरेको पाठकले जानकारी दिए । कतारका विदेश राज्यमन्त्री हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उनको भूमिका महत्वपूर्ण रहेको इजरायली विदेशमन्त्रीको भनाइ थियो ।