एउटा आश्रमका गुरु आफ्ना शिष्यलाई जीवन जिउने कलाबारे अलि फरक ढंगले शिक्षा दिन चाहन्थे । एक दिन उनले एउटा ठिकै आकारको भाँडामा पानी भरेर त्यसमा एउटा भ्यागुतो राखिदिए । पानीमा पुग्नासाथ भ्यागुतो मजाले पौडिन थाल्यो ।
गुरुले त्यो भाँडोलाई चुलोमा बसालिदिएर पानी तताउन सुरु गरे । पानी बिस्तारै तात्दै गयो । तर, भ्यागुतोमा कुनै छटपटाहट देखिएन । ऊ पानीको तापक्रमअनुरूप आफ्नो शरीरलाई ढाल्दै गयो । भाँडाको पानी झनै तातो हुँदै गयो । भ्यागुताले यताउता घुमेर आफूलाई तयार गरिरह्यो ।
बिस्तारै पानीको तापक्रम बढ्दै गयो । भाँडाको पानी उम्लिन थाल्यो । तापक्रमका कारण भ्यागुतालाई पानीमा बसिरहन कठिन भयो । त्यसपछि भ्यागुताले उफ्रेर बाहिर निस्कने निश्चय गर्यो र भएभरको शक्ति लगाएर बाहिर निस्किने कोसिस गर्यो । तर, ऊ यस कार्यमा सफल हुन सकेन । बिस्तारै पानीको तापक्रम उच्च विन्दुमा पुग्यो । र, अन्त्यमा भ्यागुतोको ज्यान गयो ।
यो सब घटनाक्रम ध्यानपूर्वक हेरिरहेका शिष्यलाई गुरुले सोधे— अब तिमीहरू बताओ कि यो भ्यागुतोको ज्यान केका कारण गयो ? कसैले तातोपानी त कसैले आगोको कारण भ्यागुताको ज्यान गएको बताए । शिष्यहरूको जवाफ सुनेपछि गुरुले गम्भीर हुँदै भने– वास्तवमा यो भ्यागुतो आगो या पानीको तापक्रमका कारण नभई आफ्नै गलत सोच र कर्मका कारण मरेको हो ।
किनकि, जतिखेर उसले उफ्रेर पानीबाट बाहिर आउनुपर्ने थियो, त्यतिखेर यसले आफ्नो सम्पूर्ण शक्ति पानीको तामक्रमअनुरूप आफूलाई ढाल्ने कार्यमा खर्चियो । परिणामतः पानीबाट बाहिर आउने समयमा उसको शरीरमा शक्ति नै बाँकी रहेन । स्वयंको गलत सोच र कार्यले नै उसको ज्यान लिएको हो । त्यसैले, तिमीहरूले पनि सही समयमा सही निर्णय लिन सकेमा मात्र जीवन सही ढंगले जिउन सक्नेछौ ।