पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध हुँदा केलियन एम्बाप्पेको एउटै सपना युरोपियन च्याम्पियन्स लिग जित्ने थियो । च्याम्पियन्स लिगको सर्वाधिक विजेता रियलमा आबद्ध हुँदै उनले आफ्नो सपना पूरा गर्ने उद्देश्य राखेका थिए । यसै कारण नै उनी रियलमा आएका हुन् । तर, रियलमा आएको पहिलो सिजनमा उनको यो सपना पूरा नहुने देखिएको छ । च्याम्पियन्स लिग जित्ने एम्बाप्पेको सपना डगमगाउँदै गएको छ ।
च्याम्पियन्स लिगमा बुधबार लिभरपुलसँगको २–० हारसँगै रियल पहिलो चरणमै प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ । जितसँगै लिभरपुल नकआउट चरणमा पुगेको छ । नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा लिभरपुलले पाँच खेलमा १५ अंक जोडेको छ । रियलविरुद्ध दोस्रो हाफमा एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुलले १–० को अग्रता लिएको थियो । मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्न नसके पनि कोडी गाक्पोले लिभरपुललाई २–० को जित पक्का पारे ।
साबिक विजेता रियल ६ अंकसहित २४औँ स्थानमा छ । शीर्ष आठ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् । लिगमा नवौँदेखि २४औँ स्थानका टोलीले प्लेअफ खेल्नुपर्नेछ । रियलका स्टार खेलाडी एम्बाप्पेले अहिलेसम्म १८ खेलमा नौ गोल गरेका छन् । उनले च्याम्पियन्स लिगमा राम्रो खेल्न सकेका छैनन् । रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले एम्बाप्पेको प्रदर्शनप्रति धैर्य गर्नुपर्ने बताए । ‘उनी अहिले कठिन समयबाट गुज्रिरहेका छन् । एम्बाप्पे असाधारण खेलाडी हुन्,’ एन्सेलोटीले भने, ‘यो अवस्थाबाट चाँडै पुनरागमन गर्नेछन् ।’ अब रियलले एटलान्टासँग खेल्नेछ । लिभरपुलको सामना जिरोनासँग हुनेछ ।
मार्टिनेजको उत्कृष्ट प्रदर्शन
च्याम्पियन्स लिगअन्तर्गत बुधबार एस्टन भिल्ला र युभेन्टसबिचको खेल गोलरहित बराबरीमा सकियो । अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले भिल्लालाई फेरि एकपटक हारबाट बचाएका थिए । खेलको अन्तिम मिनेटमा उनले उत्कृष्ट बचाउ गरेका थिए । युभेन्टसका फ्रान्सिस्को कोन्सेइसाओले डिबक्सबाट प्रहार गरेको बललाई गोलरक्षक मार्टिनेजले गोललाइनबाट अविश्वसनीय ढंगले रोक्न सफल भए । रिप्लेले बल लगभग पूरै लाइन पार गरिसकेको देखाए पनि मार्टिनेजले गोल हुन दिएनन् । सन् २०२२ कतार विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।