मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
२o८१ मङ्सिर १४ शुक्रबार o८:o२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

परराष्ट्रमन्त्री राणा छेन्दुमा, आज चिनियाँ समकक्षीसँग  औपचारिक वार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार o८:o२:oo

प्रधानमन्त्री केपी ओलीको भ्रमण तयारीकै क्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन पुगेकी छिन् । परराष्ट्रमन्त्री राणा बेइजिङ नभएर चीनको पश्चिमी प्रान्त सिचुआनको राजधानी छेन्दु पुगेकी छिन् । त्यहीँ परराष्ट्रमन्त्री राणा र उनका चिनियाँ समकक्षी वाङ यीबिच शुक्रबार नेपाल–चीन सम्बन्धका सबै पक्षबारे औपचारिक वार्ता हुँदै छ । 

परराष्ट्रमन्त्री राणालाई छेन्दु विमानस्थलमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल ली हुछियाङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत गरे । परराष्ट्रमन्त्री राणाको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी महाशाखा हेर्ने सहसचिव कृष्णप्रसाद ढकाल, चीनस्थित नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, नियोग उपप्रमुख सुरेन्द्र यादवलगायत छन् ।

शुक्रबार अपराह्न दुई परराष्ट्रमन्त्रीको भेटवार्तामा चीनद्वारा प्रस्तावित बिआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले तयार गरेको बेग्लै प्रस्तावबारे छलफल हुनेछ । यद्यपि, यसबारे परराष्ट्रले औपचारिक रूपमा केही भनेको छैन । परराष्ट्रमन्त्री राणाको सम्मानमा चिनियाँ समकक्षीले रात्रिभोज आयोजना गर्दै छन् । परराष्ट्रमन्त्री राणाले नेपाल र चीनबिच ०७१ वैशाख २९ मा हस्ताक्षर भएको बिआरआई सम्झौतामा प्रतिबद्धता जनाउनेछिन् र उनले अनुदानमा आधारित सहकार्यमा जोड दिनेछिन् । चीन सरकारका तर्फबाट अहिलेसम्म अनुदान घोषणा भएका करिब एक खर्ब रुपैयाँ कार्यान्वयनमा परराष्ट्रमन्त्रीले जोड दिने तयारी छ । 

दुई परराष्ट्रमन्त्रीबिच स्याफ्रुबेँसी–रसुवागढी राजमार्गको स्तरोन्नति, हिल्सा–सिमीकोट सडकको स्तरोन्नतिसम्बन्धी सम्झौता कार्यान्वयन, कोरला नाकामा सुक्खा बन्दरगाह सञ्चालन, तातोपानी नाकामा यात्रुहरूको आवागमन पुनः थाल्नुपर्नेलगायतका एजेन्डामा समकक्षीसँग छलफल हुनेछ । त्यसैगरी, टोखा–छहरे सुरुङमार्ग, पोखरा र काठमाडौंबाट तिब्बतको ल्हासालगायतका सहरमा उडान, नेपाल–चीन ऊर्जासम्बन्धी सहकार्य, चिलिमे–रसुवागढी–केरुङ २२० केभी प्रसारणलाइन आयोजना, नेपाल–चीन मैत्री औद्योगिक पार्क, सीमा व्यवस्थापन प्रणाली, बाउन्ड्री प्रोटोकल र नेपालका सीमाक्षेत्रमा चिनियाँ सहयोग अभिवृद्धिलगायतका विषय पनि उनीहरूबिच छलफल हुनेछ । 

छेन्दुमा समकक्षीसँगको औपचारिक वार्ता सकेर राणा शनिबार स्वदेश फर्किनेछिन् । १७ मंसिरमा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलमा उनी पनि बेइजिङ जाने कार्यक्रम छ ।