मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर १४ शुक्रबार o८:१३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल प्रिमियर लिग : एनपिएलमा पाकिस्तानी फास्ट बलर तनभिर भित्रिए 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार o८:१३:oo

सन् २००९ मा पाकिस्तानलाई टी–२० विश्वकप र सन् २००८ मा राजस्थानलाई पहिलो संस्करणको आइपिएल च्याम्पियन बनाउन उत्कृष्ट बलिङ गरेका बायाँहाते फास्ट बलर सोहेल तनभिर चितवन राइनोजमा 

पाकिस्तानका बायाँहाते फास्ट बलर सोहेल तनभिर नेपाल प्रिमियर लिग (एनपिएल)मा आवद्ध भएका छन् । चितवन राइनोजले तनभिरलाई भित्र्याइएको बिहीबार जनाएको छ । पाकिस्तानले सन् २००९ मा टी–२० विश्वकप र राजस्थान रोयल्सले पहिलो संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) जित्दा तनभिर प्रमुख फास्ट बलरका रूपमा थिए । तनभिरसँग ६ वटै बल फरक किसिमले फ्याँक्ने खुबी छ । उनकै उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले सुपर लिग जितेको थियो । 

पहिलो संस्करणको एनपिएलमा तनभिर तेस्रा ठुला स्टार खेलाडी हुन् । यसअघि कर्णाली याक्सले भारतका चर्चित खेलाडी शिखर धवनलाई अनुबन्ध गरेको थियो । विराटनगर किंग्सले न्युजिल्यान्डका मार्टिन गुप्तिललाई आबद्ध गरेको छ । विश्व क्रिकेट तथा विभिन्न फ्रेन्चाइज टी–२० खेलमा उत्कृष्ट प्रदर्शन गरेका तनभिरले एनपिएलमा आबद्ध हुन पाउँदा खुसी लागेको बताएका छन् ।

‘यसलाई एक चुनौतीका रूपमा लिएको छु । नेपाल गएर हजारौँ नेपाली क्रिकेट फ्यानका सामु चितवन राइनोजबाट प्रतिस्पर्धा गर्नेछु,’ तनभिरले भने, ‘मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेटका धेरै समर्थक छन् ।’ यसैगरी, चितवनका अध्यक्ष आयुष न्यौपानेले विश्वस्तरीय खेलाडीको आगमनले टोली बलियो भएको बताए । ‘हामीलाई यस्तै कुनै खेलाडीको खाँचो थियो । डे लाङको अभाव खड्किन नदिन तनभिरलाई अनुबन्ध गरी नयाँ ऊर्जा थपेका छौँ,’ न्यौपानेले भने । 

६२ एकदिवसीय र ५७ टी–२० आई
तनभिरले पाकिस्तानी टोलीबाट सन् २००७ मा भारतविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । सोही वर्ष उनले दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीयमा डेब्युको अवसर पाए । सन् २०१४ मा उनले अन्तिमपटक न्युजिल्यान्डविरुद्ध एकदिवसीय खेले । सन् २००७ मा उनले आइसिसी टी–२० विश्वकपमा भारतविरुद्ध डेब्युको अवसर पाए । १० वर्ष पाकिस्तानको राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरेका तनभिरको अन्तिम टी–२० आई वेस्ट इन्डिजविरुद्ध रह्यो ।

तनभिरले ६२ एकदिवसीय खेलमा ७१ विकेट तथा ५७ टी–२० आईमा ५४ विकेट लिएका छन् । यसैगरी उनले पहिलो श्रेणीमा ७४ खेलमा ३१० विकेट लिएका छन् । लिस्ट ‘ए’मा उनको नाममा २०५ र टी–२० खेलमा ३८९ विकेट लिएका छन् । बलिङका साथै ब्याटिङ पनि उनी राम्रो गर्न सक्छन् । उनले पहिलो श्रेणीमा पाँचपटक शतक तथा १४ पटक अर्धशतकीय इनिङ्स खेल्दै ३१ सय रन बटुलेका छन् । एकदिवसीय खेलमा उनले एकपटक अर्धशथक बनाएका छन् ।

आइपिएलमा ११ खेलको अनुभव
नयाँ बलमै स्विङ र योर्कर फ्याँक्न सक्ने क्षमतावान् बायाँहाते बलर तनभिरले विश्वचर्चित आइपिएलको पहिलो संस्करणमा राजस्थानबाट ११ खेल खेले । राजस्थानलाई पहिलो संस्करणको च्याम्पियन बनाउने क्रममा उनले २२ विकेट लिए । उनी पहिलो संस्करणकै सर्वाधिक विकेट लिने बलर थिए । उनले आइपिएलमा ब्याटिङ गर्र्दै ३६ रन जोडेका थिए । आइपिएल मात्र नभएर उनीसँग पाकिस्तान सुपर लिग, क्यारेबियन तथा बंगलादेश र च्याम्पियन्स लिगको अनुभव छ । पिएसएलमा उनले ६१ खेलमा ५५, सिपिएलमा ५९ खेलमा ६८, बिपिएलमा ३३ खेलमा ३४ र च्याम्पियन्स लिगमा १० खेलमा नौ विकेट हात पारेका छन् ।

सोएब र हुसेनले नखेल्ने
पाकिस्तानका दुई क्रिकेटरले एनपिएल नखेल्ने भएका छन् । जनकपुर बोल्ट्समा आबद्ध सोएब मक्सुद र कर्णाली याक्सका हुसेन तलातले एनपिएलमा सहभागी नहुने जानकारी दिएका हुन् । मक्सुदले इन्जुरीका कारण आउन नसकेको बताएको जनकपुरले जनाएको छ । जनकपुरले मक्सुदको ठाउँमा इंग्ल्यान्डका अलराउन्डर बेन माइकलाई अनुबन्ध गरेको छ । हुसेनको ठाउँमा कर्णालीले ओमनका पूर्वकप्तान जिसन मक्सुदलाई भित्र्याएको हो ।

काठमाडाैँ आइपुगे गुप्तिल

सन् २०१५ को एकदिवसीय विश्वकपमा दोहोरो शतकीय इनिङ्स खेल्ने एक मात्र क्रिकेटर मार्टिन गुप्तिल एनपिएल खेल्न बिहीबार काठमाडौं आएका छन् । उनी विराटनगर किंग्समा आबद्ध छन् । न्युजिल्यान्डका ओपनर ब्याट्सम्यान मार्टिनले ४७ टेस्टमा दुई हजार ५८६ रन जोडेका छन् । १९८ एकदिवसीय खेलमा उनले सात हजार ३४६ रन जोडे । 

१२२ टी–२० आईमा उनको नाममा तीन हजार ५३१ रन रहेको छ । मार्टिनले १८ एकदिवसीय, तीन टेस्ट र दुई टी–२० आईमा शतकीय इनिङ्स खेलेका छन् । पार्टटाइम बलरसमेत रहेका उनले टेस्टमा आठ र एकदिवसीय खेलमा चार विकेट हात पारेका छन् । न्युजिल्यान्डबाट उनले सन् २००९ देखि २०२२ सम्म खेलेका थिए । उनले अन्तिमपटक टी–२० आई खेल बंगलादेशविरुद्ध खेलेका थिए । विराटनगरमा ओमानका अकिब इल्यास, स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मत आलम विदेशी खेलाडी पनि आइपुगेका छन् ।

क्यानडाका अलराउन्डर थाकर जनकपुरमा आबद्ध
जनकपुर बोल्ट्सले क्यानडाका अलराउन्डर हर्ष थाकरलाई अनुबन्ध गरेको छ । २७ वर्षीय अलराउन्डर थाकरले ३५ टी–२० आईमा २९ विकेट र ४५१ रन बनाएका छन् । जनकपुरले बुधबार इंग्लिस अलराउन्डर बेन माइकलाई भित्र्याएको थियो । जनकपुरको मार्की खेलाडीमा आसिफ शेख छन् । एनपिएलमा जनकपुरले उद्घाटन खेलमा विराटनगरको सामना गर्नेछ । जनकपुरले अक्सनबाट ललित राजवंशी, अनिलकुमार साह, रूपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिकोप्रसाद यादव र तुलबहादुर थापामगरलाई अनुवन्ध गरेको थियो । 

सुदूरपश्चिमलाई राइकाको साथ
फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र राइका टुर्स एन्ड ट्रेक्स प्रालिबिच प्रायोजन सम्झौता भएको छ । राइका र रोयल्सबिच ट्राभल पार्टनरका लागि बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह र राइकाका अध्यक्ष अमरबहादुर शाहीले हस्ताक्षर गरे ।

सुदूरपश्चिमको मार्की खेलाडी कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । सुदूरपश्चिमले अक्सनबाट आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ र वसन्त खत्रीलाई अनुबन्ध गरेको थियो ।