व्यवहारगत कमजोरी, चारित्रिक विशेषता र यसको ‘इकोसिस्टम’का कारण कर्मचारीतन्त्र निकै आलोचित र अतिक्रमित भएर अस्तित्व रक्षाको ‘क्रसरोड’मा छ
आफू राष्ट्रपति निर्वाचित भएमा सरकारी संरचनालाई छरितो बनाउने, अराजनीतिकृत प्रशासनलाई राजनीतिकृत गर्ने र गणतन्त्रवादीको पहिचानसाथ संघीय सरकार पुनर्निर्माण गर्ने घोषणा डोनाल्ड ट्रम्पले गरेका थिए । नभन्दै उनी निर्वाचित भए र आफ्नो योजना कार्यान्वयन गर्न सरकारी कार्यकुशलता विभाग स्थापना गर्ने प्रतिबद्धतासाथ त्यसमा उद्यमशील अन्वेषक एलन मस्क र युवा उद्यमी विवेक रामास्वामीलाई जिम्मेवारी दिने घोषणा गरेका छन् । सुधारको प्रमुख कार्य सर्त कर्मचारीतन्त्र कटौती र खर्चमा सुधार हुने भनिएको छ । यस अभियानलाई उनले अमेरिका बनाउने अभियान (मेक अमेरिका मुभभेन्ट) नाम दिएका छन् । यस शताब्दीका विख्यात विचारक युभल नोह हरारीले रोबोट सेनाभन्दा खतरा एआई कर्मचारीतन्त्र बन्दै छ भनेर कर्मचारीतन्त्रको अधिकार अर्को कर्मचारीतन्त्र भएर आउने एआईले लिने खतरा देखाइरहेका छन् । राष्ट्रको कार्यकारीको भूमिका सम्हाल्दै गरेका ट्रम्प, विचारक हरारी र अन्वेषवक–उद्यमी मस्क तथा रामास्वामीको समान निष्कर्ष कर्मचारीतन्त्र खराब छ भन्ने नै छ ।
कर्मचारीतन्त्रको विरोधको काम यसको जन्मसाथ भएको थियो । कर्मचारीतन्त्रका पिता भनिने म्याक्स वेवरले आदर्श कर्मचारीतन्त्रको आविष्कार गर्दै भनेका थिए, कार्य गर्दै जाँदा आदर्श कर्मचारीतन्त्रमा ‘आदर्श’ चाहिँ हराएर ‘कर्मचारीतन्त्र’ बाँकी रहन्छ, त्यसपछि यसको आलोचना हुन थाल्छ । वामपन्थी विचारकहरूले बुर्जुवा वर्गसँगै नोरशाहीको समूल नष्ट हुन्छ भन्न पछि परेनन् । उनीहरूको अर्थमा कर्मचारीतन्त्र नोकरशाही हो र सधैँ सम्भ्रान्त कुलीनहरूको पक्षपोषण गर्छ । के–के न गर्न सकिन्छ भनेर क्रान्तिमार्फत सत्तामा पुुगे पनि राज्यशक्तिको जकड्याइँ त नोकरशाहीको रहेछ भनेर लेनिनले आश्चर्य मानेका थिए । एकजना अमेरिकी सिनेटरले कर्मचारीतन्त्रलाई ठुलो मिठाइको धोक्रोसँग तुलना गरी त्यसलाई चिच्याउन, निमोठ्न र आलोचना गर्न सकिए पनि ‘आटको पाट’ नचल्ने चरित्रको भनेकी थिइन् । ८० को दशकमा मार्गरेट थेचरले कर्मचारीतन्त्रको विकल्पमा थालेका अभियान अहिले पनि निरन्तर छ । राष्ट्रपति बिल क्लिन्टन र सभामुख न्युट ग्रिटले ठुलो सरकार समस्याको समाधान नभई समस्याका कारण हो भनी कर्मचारीतन्त्र घटाउने बृहत् बहस गरेका थिए । निकै प्रिय मानिएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले घुमाउरो तरिकाले कर्मचारीतन्त्रको विकल्प खोज्न आफ्ना प्रविधि सल्लाहकार अनिस चोपरामार्फत आविष्कारमुखी सरकारको अवधारणा अघि सारे । भारतमा महाकवि सुरदासको समयदेखि– ‘बहुत ज्यादा लिया, दिया बहुत कम, मर गया देश अरे जीवित रहोगे तुम ।’ जस्ता श्लोकबाट कर्मचारीतन्त्र राज्यबाट धेरै लिने, तर जनतालाई केही नदिने संस्थाका रूपमा विम्बित छ । नेपालमा एकजना राजनीति र कर्मचारीतन्त्रको स्वाद चाखिसकेका प्राज्ञिक व्यक्ति भन्दै थिए ‘कोही आफूलाई सखाप बनाउन चाहन्छ भने कर्मचारीतन्त्रमा पसे हुन्छ, निकम्मा हुन एक वर्ष नै काफी छ ।’ अर्का पूर्वमन्त्रीले भने ‘कसो बुद्धि खुलेर त्यता गइएनछ नत्र म पनि त्यस्तै हुन्थेँ ।’ राजनीतिज्ञले मात्र होइन, यो संस्था सेवाग्राही, कवि, कलाकार, व्यंग्यकार, उद्यमी सबैबिच अप्रिय हुँदै आएको छ । उल्लिखित अभिव्यक्तिहरूले पनि यसैलाई पुष्टि गर्छन् ।
अमेरिकामा राष्ट्रपतिको कार्यभार सम्हाल्नेबित्तिकै ट्रम्पका विश्वासी एलन मस्क र विवेक गणपति रामास्वामीले कर्मचारीतन्त्रलाई छिचोलेर, सरकारी खर्च कटाएर, अनावश्यक नियमन हटाएर, संघीय संरचना पुनर्संरचना गरेर ‘अमेरिका बचाऊ’ (सेभ अमेरिका)को अभियान लागू गर्ने भनेका छन् । अर्को अर्थमा उनीहरू कर्मचारीतन्त्रलाई ‘डिस्मेन्टल’ गरेर अमेरिका बचाउने रणनीतिमा छन् । मानौँ, कर्मचारीतन्त्र अमेरिकी पहिचान र रिपब्लिकन सुधार अभियानको बाधक हो । उनका सामाजिक सञ्जालमा आएका भाषाले त यही बोल्छ, तर यिनै कुरा भाषणमा भन्दा चाहिँ न्युजिल्यान्डकी माउरी अल्पसंख्यक सांसद हाना रह्विटी मैपीले आक्रोशमा चिच्याएको हाका भाकाजस्तै लाग्छ । भाषा र हाउभाउले मन र मस्तिष्कलाई अभिव्यक्त गर्छन् । यसको पुष्टि रामास्वामीले गरे– ‘डेमेक्रेटले भनेझैँ यो लोकतन्त्रको खतरा होइन, भ्रष्ट कर्मचारीतन्त्रका लागि खतरा हो’ (थ्रेट टु डेमोक्रेसी, नोप, थ्रेट टु ब्युरोक्रेसी) । मस्कको शब्दमा ‘कर्मचारीतन्त्रको निर्मूलन र लोकतन्त्रको पुनः आरोहणका लागि सरकारी दक्षता विभाग आवश्यक छ । के कर्मचारीतन्त्र लोकतन्त्रको खतरा हो ? होइन भने कर्मचारीतन्त्रविरुद्ध साझा भाष्य किन बनिरहेको छ ? हो भने किन यसलाई अभेद्य, अत्याज्य र राज्य–व्यवस्थाको महत्वपूर्ण भूमिकामा संरचित गरियो ? यसबारे कहीँकतै मिहीन ढंगमा विश्लेषण गरिएको छैन । यसका कतिपय व्यवहारगत कमजोरी, चारित्रिक विशेषता र यसको इकोसिस्टमका कारण यो संस्था आलोचित, निकै आलोचित र अतिक्रमित भएर अस्तित्व रक्षाको क्रसरोडमा छ । राजनीति र अन्य वर्गमा रहने वृत्तिईष्र्याको मनोविज्ञानको कारण पनि हो यसको अस्तित्व संकट ।
कर्मचारीतन्त्र यसको ‘रेसिपी’का कारण पनि आलोचित छ । कर्मचारीतन्त्र सामान्य विधिबाट संरचित हुन्छ । यसको रणनीति माथिबाट निर्धारित हुन्छ, अधिकार र जिम्मेवारी माथिबाट तल झर्छ, जवाफदेहिता तलबाट माथि उक्लन्छ । ठुलाले कजाउँछ, साना कजिन्छन् । कर्मचारी बढुवाका लागि प्रतिस्पर्धा गर्छन्, प्रतिस्पर्धा र्यांकका लागि गर्छन् न कि जिम्मेवारीका लागि । सुपरिवेक्षकले मूल्यांकन गर्छ । नियमले विवेकलाई कठोर बनाउँछ, तह सोपानले सम्बन्धलाई असहज पार्छ । यी सबै रेसिपी (तत्व भएपछि कमचारीतन्त्र बनेको हो । यी परम्पपरागत आधारभूत तत्वका कारण यो लोकप्रिय हुँदैन, तर यसको विकल्प पनि पाइँदैन । त्यसैले, कर्मचारीतन्त्रको विकल्प खोज्ने, विस्थापन गर्ने, खारेज गर्ने, डिसमेन्टल गर्ने, विनिर्माण गर्ने, बाइपास गर्ने, राजनीतिकृत गर्ने, सुधार गर्ने, संरचना कटाउने, एजेन्सीकृत गर्नेजस्ता शब्दहरूबाट आलोचना गरिँदै आएको छ । यसबाट कर्मचारीतन्त्रको मनोबल झनै गिरेको छ । आफ्नै अभिभावकको व्यवहारले झनै हतप्रभ बनेको छ । यसको पूर्ण विकल्प नभएपछि यसलाई विस्थापन गर्न सकिने भएन, सुधारको रणनीति लिनुको विकल्प छैन भन्ने निष्कर्षबाट पर पुग्नु हुँदैन ।
नेपालमा सबै प्रधानमन्त्रीले जनतालाई महसुस हुने गरी काम गर्न निर्देशन दिँदै आएका छन् । लोकतन्त्र पुनस्र्थापनापछिका पहिलो प्रधानमन्त्रीले कर्मचारीतन्त्रको आकार घटाउने र कार्यशैली परिवर्तन गर्ने र सरकारको कार्य आयतन घटाउने कामको सुरुवात गरेका थिए । त्यस बखत करिब एक लाख सात हजार निजामती कर्मचारीको संख्यालाई सतहत्तर हजारमा झार्ने रणनीति थियो । निजामती सेवा ऐन तर्जुमा गरी उच्च पदहरूमा खुला प्रतियोगिताको प्रावधान राखी निजामती सेवाबाहिरका मानिस ल्याउने रणनीति लिइयो । तर, खुलामा पनि भित्रकै मानिस पास भएपछि त्यो अभीष्ट काम लागेन । अहिले संघीय निजामती सेवा विधेयकमा प्रतिस्पर्धाको आयतन साँघुुर्याउन खोजिएको छ । राज्यका विशिष्ट संरचनामा पूर्वकर्मचारीलाई नियुक्ति नगर्ने बहस चल्दै आएको छ । बुुझ्नुपर्ने के हो भने जहाँबाट नियुक्त भए पनि नियुक्तिपछि चाहिँ ऊ कर्मचारीतन्त्रमा जकडिन्छ । कर्मचारीतन्त्रको विकल्पका रूपमा सल्लाहकार राख्ने, स्वकीयसचिव कार्यालयमा राख्ने काम राजनीतिक कार्यकारीले गरेर कर्मचारीतन्त्रीय प्रणालीको बाइपास च्यानल बनाउँदै आएको पाइन्छ । तर, ती संयन्त्रले पनि विज्ञता, सूचना र सम्झना कर्मचारीतन्त्रीय प्रणालीबाट लिन्छन् । अन्ततः ती पुनः कर्मचारीतन्त्रको अर्को रूपमा संरचित हुन पुुग्छन् । जसरी निर्णय गरिए पनि कार्यान्वयनको लय भनेको कर्मचारीतन्त्रीय पद्धति हो । किनकि, कर्मचारीतन्त्र संयन्त्र र स्वरूप मात्र नभई विधि, प्रणाली, कार्यशैली र कार्य अनुशासन हो । कतिपयले यसलाई अरबी घोडा भनेका छन्, जसले चढ्न जान्दछ, उसले कजाउँछ र गन्तव्यमा सजिलै पुुग्छ, जुन नेतृत्वले त्यसो गर्न सक्दैन बिचैमा फालिदिन्छ । जापानका मेजी, सिंगापुरका यु, दक्षिण कोरियाका पार्कहरूले कर्मचारीतन्त्रलाई राम्ररी उपयोग गरे, यो समृद्धिको सहयोगी बन्योे र कजाउनेहरू राजनेता कहलिए । राजपाक्षे, हसिना, एर्सादहरूले दुुरुपयोग गरे, जसको परिणाम अहिलेको श्रीलंका, बंगलादेश र पाकिस्तानमा देखिन्छ । यस अर्थमा कर्मचारीतन्त्रलाई विस्थापन गर्ने भन्ने सम्भव विषय होइन । आलोचना र अतिक्रमणको क्षेत्र उसको शैली मात्र हो । शैलीचाहिँ सुधार गरिनैपर्छ, अन्यथा जनताबाट यो विमुख बन्दै जानेछ । त्यसैले आजभोलि भन्ने गरिएको छ– विस्थापन होइन, कर्मचारीतन्त्रको डिएनए परिवर्तन ।
शैली परिवर्तनका लागि संवेदनशील भएर सोचिएको छैन र यसले जनताबाट आफँै आलोचित हुने काम गर्यो । राजनीतिक कार्यकारीले आफ्नो शैली, स्वभाव र प्रवृत्तिलाई गहन रूपमा विश्लेषण गर्न चाहेनन्् वा भ्याएनन् । पिटर प्लास्त्रिक, डेभिड ओब्सर्न, आन्ड्रे डे वालले संरचना होइन, संस्कृति परिवर्तन गर्न सुुझाएका छन् । प्रशासन र राजनीति दुवैको शीर्ष स्थानमा पुुगेकी न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री एवं राष्ट्रसंघीय विकास कार्यक्रमकी पूर्वप्रमुुख हेलेन क्लार्कले कर्मचारीलाई प्यासन (आत्मिक जागरुकता) जगाउने गरी कहिले नसोचिएकाले नयाँ सार्वजनिक जारुकतामार्फत कर्मचारीमा आन्तरिक उत्साह स्वचालित बनाई यो संयन्त्रलाई विश्वासिलो, ग्रहणशील र गतिशील बनाउन सुुझाएकी छिन् । न्युजिल्यान्ड प्रशासन सुधारको नेतृत्व गर्ने मुलुक हो । कर्मचारीतन्त्र देखिँदैन, निर्वाचित हुँदैन, अप्रजातान्त्रिक हुन्छ भन्ने तर्क सान्दर्भिक नै होइनन् । किनकि यो संयन्त्र राजनीतिबाट ‘इम्प्याक्टेड’ हुन्छ । ब्राजिलका आन्तरिक मामिलामन्त्रीले त कर्मचारीतन्त्रलाई अनिर्वाचित प्रतिनिधि भनेका छन् । जिम्मी कार्टर र जेन्को सुजुकीले आफूहरू सफल हुने अभियान प्रशासन सुधारबाट गरेका थिए । भारतीय संविधान निर्माताहरू भारतलाई भारत बनाइराख्नमा कर्मचारीतन्त्रले सघाएकोमा प्रशंसा गरियो र आजभोलि भारतीय राष्ट्रनिर्माणको दह्रो स्टिलफ्रेम यसैलाई मानिन्छ । असफल अपवादलाई सामान्यीकरण गरिनु हुँदैन । यसले राजनीतिजस्तो ‘पार्ट’मा विभाजित नभई ‘होल’मा काम गर्छ । तर, यसलाई मेरिटको दम्भमा मात्तिएर वा व्यावसायिक सदाचारिता नदेखाएर सेवक होइन, शासक हुँ भन्ने छुट छैन । भी भी दोन्भाले भनेझैँ शासन र सभ्यता असफल हुन्छ भने यसैको कारणले हुन्छ, यो सुध्रिनुपर्छ, यसलाई संकटमा पार्नुहुन्न ।