१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १५ बुधबार ०६:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

११औँ गणतन्त्र दिवस : साढे चार सय कैदीको कैद मिनाहा गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १५ बुधबार ०६:३०:००

गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरूलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो ।  गत १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहितामा ७५ प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मात्र छाड्न सकिने प्रावधान थियो । सो प्रावधानले जेल भरिएको भन्दै सरकारले गत महिना संहिता  संशोधन गरेर आधा कैद भुक्तान गरेपछि छाड्न सकिने प्रावधान राखेको हो । केही गम्भीर किसिमका अपराधमा संलग्नबाहेक अन्य कैदीले आधा कैद सजाय मिनाहा पाउनेछन् । असल चालचलन मूल्यांकन गर्ने वस्तुगत प्रणाली नभएकाले ५० प्रतिशत कैद भुक्तान भएका सबै कैदीलाई सरकारले छाड्ने गरेको छ ।

नयाँ अपराधसंहिताअनुसार विभिन्न १५ किसिमका मुद्दामा भने ५० प्रतिशत कैद मिनाहा लागू हुँदैन । जन्मकैद, जबर्जस्तीकरणी, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना तथा अमानवीय व्यवहार र मानवताविरुद्धको अपराधमा ५० प्रतिशत कैद छुट हुनेछैन । त्यस्तै, राज्यविरुद्धको अपराध, युद्ध अपराध, बहुविवाह, कैदबाट भागे–भगाइएको मुद्दाका अभियुक्तले पनि छुट पाउँदैनन् । 

मुलुकी अपराधसंहितामा ६ प्रकारका मुद्दामा जन्मकैद हुने व्यवस्था छ । यातना दिई वा निर्ममतापूर्वक हत्या, वायुयान अपहरण गरी वा विस्फोट गरी हत्या, अपहरण गरी वा शरीर बन्धक बनाई हत्या, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष मिसाएर हत्या, कुनै जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसुर गरेको र जबर्जस्तीकरणी गरी ज्यान मारेको अवस्थामा जन्मकैद सजाय हुने व्यवस्था छ । यी मुद्दामा दोषी भएकाहरू २५ वर्ष नै जेल बस्नुपर्ने हुन्छ । 

नारायणहिटी संग्रहालयमा  गणतन्त्र स्मारक उद्घाटन हुने
११औँ गणतन्त्र दिवस बुधबार मनाइँदै छ । गृह मन्त्रालयका अनुसार टुँडिखेल सैनिक मञ्चमा बिहान ८ः२५ बजे विशेष समारोह सुरु हुनेछ । समारोहमा उपत्यकाका विभिन्न स्थानीय तहले झाँकी प्रदर्शन गर्नेछन् । सुरक्षा निकाय र राष्ट्रिय खेलकुद परिषद्को समेत विशेष प्रदर्शन रहने मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, मन्त्री, सुरक्षा निकायका प्रमुखलगायतको कार्यक्रममा उपस्थिति रहनेछ । प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । १५ जेठ ०६५ मा संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । 


दिवसको अवसरमा राष्ट्रपति भण्डारीले बुधबार साँझ ६ बजे नारायणहिटी संग्रहालय परिसरमा रहेको गणतन्त्र स्मारकको उद्घाटन गर्ने कार्यक्रम छ । आठ वर्षअघि निर्माण सुरु भएको स्मारकको निर्माण कार्य सम्पन्न भइसकेको छ । ३५ रोपनी क्षेत्रफलमा निर्माण भएको स्मारक उद्घाटनको केही दिनमै सर्वसाधारणले अवलोकन गर्न पाउने सहरी विकास मन्त्रालयले जनाएको छ । स्मारकमा गणतन्त्र प्राप्तिका लागि भएको संघर्षका क्रममा भएका सहिदहरूको सम्झनास्वरूप तस्बिर र कलाकृति, बेपत्ता र घाइतेको सम्झना तस्बिर, नेपालको नक्सा रहनेछन् । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्मारकको शिलान्यास गरेका थिए । स्मारक ४५ करोडको लागतमा बनेको हो ।

१९ सयलाई  ‘संविधानसभा’ पदक दिइँदै
सरकारले गणतन्त्र दिवसको अवसरमा एक हजार नौ सयलाई ‘संविधानसभा’ पदक वितरण गर्ने भएको छ ।  ०६४ र ०७० को संविधानसभाका सदस्य र संविधान निर्माणमा योगदान पु-याउनेहरूलाई पदक प्रदान गर्न लागेको हो । राष्ट्रपति निवास शीतल निवासमा हुने विशेष समारोहमा राष्ट्रपति भण्डारीले पदक वितरण गर्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ ।