कांग्रेसकाे आकस्मिक बैठक
कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ । पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार भएको निधनले कांग्रेस मर्माहत र स्तब्ध भएको निर्णयमा उल्लेख गरिएको छ ।
नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगाना वि.सं. ०४८ को आमनिर्वाचनमा कांग्रेसको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट विजयी भई २०५१ सम्म प्रतिनिधिसभाको सभामुख थिए ।
यसैगरी, उनी वि.सं. २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नं. २ र ०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेसको उम्मेदवार थिए । नेपाली कांग्रेसका विभिन्न पदमा रहेर उनले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा समेत उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । मानव अधिकार, न्यायक्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि ढुंगानाले पुर्याएको योगदान सदैव स्मरणीय रहने बैठकपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको वक्तव्यमा उल्लेख छ । उनको निधनबाट सिंगाे देशले वरिष्ठ कानुनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको छ ।
पूर्वसभामुख ढुंगानाको निधनप्रति केन्द्रीय कार्यसमिति बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
स्वर्गीय ढुंगानाप्रति सम्मान प्रकट गर्दै कांग्रेसले आज र भोलि दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झन्डा आधा झुकाउने भएको छ । मंसिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।