दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि सानोगौचरनबाट पशुपति आर्यघाटतर्फ लगिँदै छ । ज्ञानेश्वरस्थित सानोगौचरनमा ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणपश्चात् अहिले शव पशुपति आर्यघाटतर्फ लगिँदै छ । शवयात्रामा सर्वसाधारणदेखि पार्टीका कार्यकर्तासमेत सहभागी छन्।
यसअघि प्रधानमन्त्री केपी ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रकट गरेका थिए । ज्ञानेश्वरस्थित सानोगौचरन पुगेर उनले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवाले ढुंगानाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गरे।
दिवंगत ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानोगौचरनमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी तथा पूर्वसांसद, पूर्वप्रशासक, वरिष्ठ कानुन व्यवसायी, मानव अधिकारकर्मी र नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हाे।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । उनको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदै छ ।
२ माघ १९९८ मा जन्मेका ढुंगाना २०१७ सालदेखि राजनीतिमा लागेका हुन् । ढुंगाना पहिलो जननिर्वाचित सभामुख हुन् । यसअघि ०१५ सालको संसद्मा कृष्णप्रसाद भट्टराई पहिलो मनोनीत सभामुख थिए । ०४८–५१ असारसम्म सभामुख भएका ढुंगानाको ‘सरकार सत्तापक्षको, संसद् प्रतिपक्षको' भन्ने भनाइ चर्चित छ ।
ढुंगानाले श्रीलंकामा सम्पन्न सात राष्ट्रको सभामुख फोरममा उत्कृष्ट सभामुखको उपाधि पाएका थिए । ढुंगाना नेपाल मानव अधिकार संगठन, एम्नेस्टी, ट्रान्सपरेन्सीजस्ता संस्थाको संस्थापक पनि हुन् । साहित्यकारसमेत रहेका ढुंगानाको ‘यही हो नेपाल’ भन्ने गीत चर्चित छ ।