सभापति देउवाद्वारा पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण
कांग्रेस सभापति शेरबहादुर देउवाले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आज ज्ञानेश्वरस्थित सानोगौचरन पुगेर देउवाले ढुंगानाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन्।
त्यस क्रममा सभापति देउवाले ‘संसद् प्रतिपक्षको हो’ भन्ने भाष्य स्थापित गर्न ढुंगानाले भूमिका खेलेको स्मरण गर्दै उनको त्यो कदमको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भएको बताए । देउवाले भने, ‘उहाँको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ ।’
दिवंगत ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानोगौचरनमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी तथा पूर्वसांसद, पूर्वप्रशासक, वरिष्ठ कानुन व्यवसायी, मानव अधिकारकर्मी र नागरिकको उल्लेख्य उपस्थिति छ ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । सानोगौचरनमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।