नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता रकम नबुझाए पुनः लाइन काट्ने बताएका छन्। मन्त्रिपरिषद्को निर्देशनअनुसार २४ घण्टाभित्र लाइन जोडिएको उल्लेख गर्दै घिसिङले बक्यौता नबुझाए पुनः लाइन काट्ने प्रस्ट पारेका हुन्।
बक्यौता उठाउने मन्त्रिपरिषद्को निर्देशनसमेत स्मरण गराउँदै उनले भने, ‘१५ दिनभित्र हामीले गरेको बिलअनुसारको रकम बुझाएन भने हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौँ। नेपाल सरकारले पनि भनिसकेको अवस्था छ– १५ दिनभित्र बक्यौता रकम असुलउपर गर्नू।’
बुधबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले विद्युत् प्राधिकरण ऐन, २०४१ अन्तर्गत स्थापित संस्था भएकाले नेपाल सरकारका निर्देशन र निर्णयहरू कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सो व्यवस्थालाई सम्मान गर्ने बताए।
मन्त्रिपरिषद्को निर्णयसँगै अब डेडिकेटेड फिडर र ट्रंकलाइन बक्यौताको विषय अब नेपाल सरकार र ऊर्जा मन्त्रालयसमेतको एकमुस्ट दायित्वभित्र आएको कार्यकारी निर्देशक घिसिङले प्रस्ट्याए।
‘१५ दिनभित्र यो बक्यौता रकम उठेन भने नेपाल सरकारले र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि जिम्मेवारीपूर्वक बक्यौता उठाउनेतिर बढ्छ भन्ने मलाई पूर्ण विश्वास छ, उनले भने, ‘विद्युत् प्राधिकरण आफ्नो नियम कानुनअनुसार अघि बढ्छ।’