बिहीबार नेप्से परिसूचक १३.९५ अंकले बढेर दुई हजार सात सय ४८.७८ विन्दुमा पुगेको छ। आज कारोबारमा आएका ३२१ कम्पनीको दुई करोड १६ लाख ६० हजार कित्ता सेयर खरिद-बिक्री हुँदा १० अर्ब ३२ करोड तीन लाख रुपैयाँबराबरको कारोबार भएको छ।
नेप्सेका १३ उपसमूहमध्ये सात उपसमूहको सूचक बढेको छ। विकास बैंक र जलविद्युत् एक प्रतिशतभन्दा धेरैले बढ्दा बैंक, होटेल तथा पर्यटन, लघुवित्त, म्युचल फन्ड र अन्य उपसमूह एक प्रतिशतभन्दा कमले वृद्धि भएका छन्। बाँकी उपसमूहमा एक प्रतिशतभन्दा थोरैको गिरावट देखिएको छ।
आज गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अप्पर हेवाखोला हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, ङादी ग्रुप पावर, माछापुच्छ्रे बैंक र केबिएल डिबेन्चर २०८६ का लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै आम्दानी गरेका छन्।
बढेको बजारमा राजा इनर्जी विकासका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। सो कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले घट्दा कुथेली बुखारी स्मल हाइड्रोको मूल्य सात प्रतिशतभन्दा धेरैले घटेको छ।