मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Monday, 09 December, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ कार्तिक २९ बिहीबार ११:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खाना पकाउने कोशी ग्यासमा चार केजीसम्म कम तौल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार ११:४१:oo

कोशी ग्यासका सिलिन्डरमा चार केजीसम्म तौल कम भएको पाइएको छ । कोशी ग्यास उद्योगले उपभोक्ताका लागि बजारमा पठाएको चारवटा सिलिन्डरमा चार केजीसम्म कम तौल भेटिएको हो ।

मोरङको बुढीगंगा गाउँपालिका नेमुवामा रहेको उद्योगबाट फिलिङ गरी कोशीले सिलिन्डर विक्रेतामार्फत उपभोक्तासम्म पु¥याउने गर्छ । तर, बिक्रीका लागि विराटनगर– ३ बुद्धचोकमा लगिएका चारवटा सिलिन्डरमा ४ केजीसम्म कम ग्यास पाइएको छ । 

विराटनगर– ३ का किशोर चापागाईंले घुम्ने व्यापारीबाट खरिद गरेको चारवटा सिलिन्डरमा ग्यासको तौल कम भएको शंका लागेपछि जिल्ला प्रहरी मोरङमा उजुरी दिएका थिए । ‘आफैँले वजन जोख्दा कम भएको शंका लाग्यो,’ चापागाईंले भने, ‘त्यसपछि प्रहरीमा उजुरी दिएँ । पछि जोख्दा चार केजीसम्म कम भएको पाइयो ।’

उजुरीपछि प्रहरीको आग्रहमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको टोलीले पनि तौल जाँच गरेको थियो । उपभोक्तासम्म आइपुगेको उक्त सिलिन्डरमा भएको ग्यासको तौल १०.७४ केजी, ९.७४५ केजी, ८.८ केजी र १३.७६५ केजी मात्र थियो । 

यसैगरी, चारवटा सिलिन्डरको कुल तौल क्रमशः २६.४०, २५.०४५, २४.१०० र २९.०६५ रहेको थियो । नापतौल नियमअनुसार हरेक सिलिन्डरको टैर तौल १५.३ केजी र सिलिन्डरभित्रको ग्यास १४ केजी दुई सय ग्राम हुनुपर्छ । 

तौल कम भएपछि कोशी ग्यास बिक्री गर्दै हिँड्ने राजकुमार मण्डल र उद्योगका प्रतिनिधि विपिन मण्डललाई समेत रोहबरमा राखेर वाणिज्य विभागले मुचुल्का उठाएको छ । साथै,  ग्यास बिक्री गर्दै हिँड्ने मण्डललाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

नापतौल तथा गुणस्तर कार्यालयका प्रमुख शम्भुकुमार झाले घटनाबारे विक्रेता र उद्योगसँग सोधपुछ गरेर अनुसन्धान थालिसकेको र प्रहरीले पनि आफ्नोतर्फबाट अनुसन्धान गरिरहेको बताए ।