
नेकपा(एमाले)को सचिवालय बैठक १० घन्टामा सकिएको छ । बैठकले पार्टीका महत्वपूर्ण विषयमा सहमति गरेको छ ।
बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकाल मात्र पार्टी अध्यक्ष हुन पाइने प्रावधान पनि हटाउने विषयमा सहमति गरेको छ । त्यस्तै, १५ सदस्यीय पदाधिकारी रहने व्यवस्थामा सहमति भएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।
बैठक बिधान संशोधनका विषयमा केन्द्रीत भएको थियो। उपाध्यक्ष विष्णु पौडेलले बिधान संशोधन प्रस्ताव पेश गर्ने ११ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरेका थिए। जसमा बैठकले १५ सदस्यीय पदाधिकारीमा सहमति गरेको हो ।
यस विषयमा औपचारिक रुपमा अनुमोदन भने शुक्रबारको बैठकबाट हुने भएको छ। सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे पनि बस्ने भएको छ ।
७० वर्षे उमेरहद र अध्यक्षमा दुई कार्यकालको प्रावधान हटेसँगै तेस्रो पटक पनि केपी ओली अध्यक्ष हुने बाटो खुल्नेछ।
एमालेले बिधान संशोधनका विषयमा सचिवालय, पोलिटब्यूरो, केन्द्रीय समिति हुँदै बिधान सम्मेलनमार्फत निर्णय लिन लागेको हो ।
त्यस्तै, एमालेको राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको विषयमा पछि छलफल भएको छ । उनको जिम्मेवारीको विषयमा भने कुनै सहमति भएको छैन ।