
नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिका सेयरधनी महिलाहरूले साधारणसभाको निर्णय सच्याउन माग गरेका छन्। उनीहरूले सेयर सदस्यहरूलाई साधारण सभामा प्रवेश निषेध गरेर गरिएका निर्णय सच्चाउन माग गर्दै प्रमुख कार्यकारी अधिकृतको ध्यानाकर्षण गराउँदै पत्र बुझाएका हुन् ।
गत २८ असारमा सम्पन्न १०औँ साधारणसभाले गरेको मर्जरको निर्णय खारेजीको माग गर्दै संस्थापक महिला सेयरधनीहरूको एक टोलीले बिहीबार प्रधान कार्यालय बुटवलमा प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवाललाई भेट गरी ध्यानाकर्षणपत्र बुझाएका हुन्।
विभिन्न खालका जालझेल र छलछाम गरी राष्ट्रियस्तरको लघुवित्त संस्थालाई तीन जिल्ला कार्यक्षेत्र भएको सानो संस्थासँग मर्ज गर्ने निर्णय तत्काल खारेज गर्न उनीहरूले माग गरेका छन्। सेयरधनी महिलाहरूले सर्लाहीको मलंगवास्थित समाज लघुवित्त वित्तीय संस्था लिसँग गाभ्ने साधारण सभाको निर्णय उचित कारण नदेखिएको तर्क गरेका छन् ।
ध्यानाकर्षणपत्र बुझाउदै संस्थापक महिला सेयरधनी तथा पूर्वसञ्चालक जमुना ढकालसहितको टोली गएको थियो। प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले आवश्यक प्रक्रिया पूरा गरेर साधारणसभा गरिएको र सेयर सदस्यहरूलाई प्रवेशमा निषेध नगरेको दाबी गर्दै आरोपमा सत्यता नभएको बताए।
यसअघि असन्तुष्ट सेयरधनी महिलाहरूले नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय भैरहवाका प्रमुख रमेश अर्याललाई भेटी ध्यानाकर्षण-पत्रसमेत बुझाएको बताएका छन्।