
गत असार २४ मा भोटेकोशीको सहायक नदी ल्हेन्देको बाढीमा हराएका भनिएकामध्ये दुईजना सकुशल भेटिएका छन्। नाम, ठेगाना फरक पर्दा हराएको सूचीमा परेका सिन्धुपाल्चोकका दिल तामाङ र प्युठानका धनराज विक सम्पर्कमा आएका रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए।
कन्टेनरचालक तामाङ बाढीको अघिल्लो दिन २३ असारमा टिमुरेबाट ना ६ ख ४६०४ नम्बरको कन्टेनर लिएर काठमाडौं आएका थिए भने नौ महिनाअगाडि टिमुरेमा कन्टेनरचालक रहेका विक पछिल्लोपटक काठमाडौंबाट पूर्व–पश्चिम चल्ने गाडी चलाउँदै आएका छन्।
बाढीमा हराएको सूची सार्वजनिक गर्दा तामाङ र विकको ठेगाना गोरखा भनिएको थियो। ‘तर, स्थानीय प्रहरीमार्फत घर, ठेगाना खोज्दा पनि पत्ता लागेन। कोही आफन्त पनि सम्पर्कमा आउनुभएन,’ सिडिओ पौडेलले भने, ‘योबिचमा उहाँहरूसँग नाम मिलेका र टिमुरेमा कन्टेनरचालक रहेका दुईजना सम्पर्कमा आउनुभयो। घटनाका वेला नाम, ठेगाना टिप्न फरक परेका निर्क्यौल गरेर बेपत्ताको सूचीबाट हटाएका छौँ।’
स्थानीय प्रशासनले बाढीमा बेपत्ता, हराएका र सनाखत भएकाको सूचीबाट दुईजना हटाएर १८ कायम गरेको छ। तर, हालसम्म फेला परेका १२ शव र मानव अंगमध्ये दुई शवको मात्र सनाखत भएको छ। बिहीबार मात्र थप एउटा शव फेला परेको हो।
‘दुई शवको सनाखत भएर आफन्तले बुझेर दाहसंस्कार गरिसक्नुभएको छ, तर अरू शवको पहिचान हुन समस्या भइरहेको छ,’ सिडिओ पौडेलले भने, ‘फेला परेका शवको सनाखत हुन नसकेकाले हराएकाको यकिन सूची भन्न सकिएको छैन।’