वीरगन्जबाट ठुलो परिमाणमा लागुऔषध चरेससहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–४, हरिहरपुरनिवासी २९ वर्षीय मकसुद अन्सारी, भारत विहारको आदापुर–९ निवासी २९ वर्षीय मुकेशकुमार र सिम्रौनगढकै २० वर्षीय रामलाल सहनी रहेका छन्।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६ बजेको समयमा वीरगन्ज महानगरपालिका–१५ भिस्वा होटेलअगाडिको ४० फिटे सडक खण्डमा प्रहरीले लागुऔषध खरिद-बिक्री भइरहेको सूचनाका आधारमा तीनजनालाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले ना. १५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार तीनजनालाई खानतलासी गर्दा २२ किलो ५ सय ग्राम चरेस बरामद भएको हो।
प्रहरी नायब उपरीक्षक भारतीका अनुसार उनीहरूले बोकेको कालो झोला र सेतो प्लास्टिकको बोराबाट ५०० ग्रामका ४५ प्याकेटमा साढे २२ किलो चरेस फेला परेको हो। उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।