जिल्ला अदालत काठमाडौंका तत्कालीन न्यायाधीश राजकुमार कोइरालालाई घुसका लागि प्रलोभन दिने अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेललाई नसिहत दिइएको छ । नेपाल बार काउन्सिलले आइतबार उनको विषयमा निर्णय गरेको काउन्सिल सचिव श्रीराम खनालद्वारा जारी सूचनामा छ ।
पोखरेलविरुद्ध उजुरी दर्ता भई कारबाही सुरु भएको झन्डै साढे दुई वर्षपछि निर्णय भएको हो । उनलाई कानुन व्यवसायीको आचारसंहिता २०५१ बमोजिम अनुशासन समितिबाट कारबाही गरिएको काउन्सिलले जनाएको छ । आचारसंहिताको नियम ३ (१) (क), (ङ) र (छ) बमोजिमको कार्य गरेको ठहर काउन्सिलको छ । नियम (क)मा कानुन व्यवसायीले नैतिकताका आधारभूत सिद्धान्तको प्रतिकूल काम गर्न नहुने उल्लेख छ भने (ङ)मा न्यायिक प्रक्रियालाई दुरुपयोग गर्न वा गराउन नहुने व्यवस्था छ । (छ)मा न्याय प्रशासनसँग सम्बन्धित कामकारबाहीका सिलसिलामा अदालत वा न्यायाधीश वा कानुन व्यवसायीप्रति अनास्था पैदा हुने किसिमका झुटा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । उनले यी कार्य गरेकाले कानुन व्यवसायी परिषद् ऐनको ११ (३) (क) बमोजिम नसिहत दिइएको हो ।
पोखरेलले एमालेबाट संविधानसभा सदस्य तथा सिभिल सहकारी सञ्चालक इच्छाराज तामाङविरुद्धको ठगी मुद्दामा उनलाई धरौटीमा छाड्न भनी जिल्ला अदालत काठमाडौंका न्यायाधीश कोइरालालाई १० करोडमध्ये दुई करोड घुस प्रस्ताव गरेका थिए । यस घटनाको केही महिनापछि अडियो बाहिरिएको थियो । ०७९ असार पहिलो साता अडियो बाहिरिएपछि परिषद्को बैठक बसेको थियो । सिभिल सेभिङ एवं क्रेडिट कोअपरेटिभमा बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको भन्दै सिआइबीले ०७८ असोजमा तामाङलाई पक्राउ गरेको थियो ।