हाम्रो देश धेरै संस्कृतिले सुसज्जित देश हो । हरेक जातिको वेशभूषा र संस्कृति फरक छ । हाम्रा मौलिक कपडालाई नै हामीले रि–ब्रान्डिङ गर्न जरुरी छ । ती कपडालाई मर्म नमर्ने गरी फ्युजन गरेर लगाउँदा पनि राम्रो हुन्छ । यसो हुँदा हाम्रो संस्कृति पनि बाहिरसम्म प्रमोट हुन्छ ।
चाडबाड तथा सांस्कृतिक कार्यक्रमहरूमा आजभोलि बालिकादेखि महिलाहरूसम्म गुन्यु–चोलीमा सजिन रुचाउँछन् । विशेषगरी, आधुनिक लुक्स दिइएका गुन्यु–चोली धेरैको रोजाइमा पर्ने गरेको छ । परम्परागत गुन्यु–चोलीको आफ्नै फम्र्याट छ । यसलाई सामान्य आकारमा बनाइन्छ । जसलाई टेलर सेट पनि भनिन्छ । त्यही गुन्यु–चोलीलाई बुटिकले आधुनिक लुक्स दिने गर्छन् । खासगरी पहिले सामान्य सुतीको कपडामा यस्तो ड्रेस तयार पारिन्थ्यो र गुन्यु–चोली नै लगाउने गरिन्थ्यो । तर, अहिलेचाहिँ विभिन्न आकर्षक कपडाको प्रयोगमा एन्ड्रोइटी गरी तयार पारिन्छ । र, यसलाई गुन्युमै मात्र लगाउनुपर्छ भन्ने छैन ।
पछिल्लो समय मखमल र सिल्कको कपडाको चोली सिलाउने प्रचलन बढ्दो छ । चन्डेरी सिल्कको कपडाको पनि अत्यधिक सिलाइन्छ । र, त्यसमा बुट्टा बनाउने प्रचलन छ । गुन्यु तथा चोलीमा बुट्टा भर्ने काम पनि गरिन्छ । यस्तो बुट्टाका लागि विशेषगरी गोल्डेन कलर प्रयोग गरिन्छ । यसका साथै रातो र ओरेन्ज, ब्ल्याक, मरुन आदि कलर पनि प्रयोग गर्न सकिन्छ ।त्यस्तै, बुट्टाका लागि ढाकाकै सेट, पेन्ट पनि पाइन्छ । जसलाई हातले बुनेर पनि तयार गरिन्छ ।
चाडबाडमा चलेका सारी
चाडबाडमा धेरै महिलाको रोजाइमा सिम्पल डिजाइनका सारी पर्ने गरेका छन् । ह्यान्डवर्क नगरिएका रेडिमेड साडीको मूल्य तुलनात्मक रूपमा कम पर्न जान्छ र लगाउनका लागि पनि हल्का र सहज हुन्छ । चाडबाडमा ढाकाको सारी लगाउन चाहनेको संख्या ठुलो छ । यो हाम्रो मौलिक ब्रान्ड पनि हो । विभिन्न स्टाइल र प्रिन्टहरूमा ढाका सारी बजारमा पाइन्छन् । त्यस्तै बनारसी सारी चाडबाडमा धेरै प्रयोग हुने अर्को सारी हो ।
सिफन पहिल्यैदेखि चलेको कपडा हो । मुलायम र पातलो हुने भएकाले यसलाई लगाउन सजिलो हुन्छ । यसलाई ड्राई गरेर चाहेजस्तो कलरमा पनि बनाउन सकिन्छ । अलि खस्रो लगाउन चाहनेले जर्जेट लगाउन सक्छन् । ह्यान्डवर्क गर्नका लािग यो राम्रो र पारदर्शी हुन्छ । हाम्रो समाजमा यसको प्रयोग पनि अत्यधिक छ ।